संयुक्त परिवारको हाम्रो परम्परागत संरचनामा यतिखेर निकै परिवर्तन आएको छ। पुस्ताको हिसाबले एकै छानामुनि तीन–चार पुस्ता ओत लाग्ने परम्परा थियो। अबका पारिवारिक संरचना दुई पुस्ता वा एक पुस्तामा सीमित भएका छन्।
सामाजिक संरचनामा पुरानो पुस्ताको प्रभाव नयाँ पुस्तामा कम हुँदै गएको छ। विश्वव्यापीकरणको प्रभावले आप्रवासन, खुलापन र आवतजावतको ढोका पूरै खोलेको छ। नयाँ पुस्तालाई विश्वका परिवर्तनसँग परिचित हुन र सूचना प्रविधिको प्रयोगबाट समाजलाई प्रभावित पार्न सहज तुल्याएको छ।
समाजको अग्रगामी सुधार एवं राजनीतिको पुस्तान्तरणमा देशभित्र वा देशबाहिरका युवा पुस्ताको योगदान छ। खल्बलिएको समाज संरचनाको नकारात्मक प्रभाव कम गर्न, खास गरेर पारिवारिक पृथकीकरण र सामाजिक सुरक्षाका पाटोमा सरकारले देशैभित्र अवसर सिर्जना गर्न र सामाजिकीकरण गर्न थप ध्यान पुर्याउनुपर्ने भएको छ।
विविध धर्म, सम्प्रदाय, जातजातिबीचको सम्बन्धमा पुस्ता तथा पारिवारिक संस्कारको प्रभाव परेको पाइन्छ। नयाँ पुस्ता, खास गरेर बालबच्चादेखि युवासम्म, पहिलेको विभेदको मात्रा कम हुँदै गएको छ। बालबच्चा समूह युवा पुस्तामा प्रवेश गरेपछि बाउआमासँग राजीखुसीले छुट्टिएर बसेको वा परिवारसँग विद्रोह गरी छुट्टिएको अवस्थामा सामाजिक वा राजनीतिक विषयमा पारिवारिक मूकसहमति हुने सम्भावना र संरक्षकको प्रभाव कम पर्ने देखिएको छ।
मूलतः युवाको उमेरसापेक्ष जोसजाँगर, भविष्यप्रतिको चिन्ता, समृद्धिको हुटहुटी, जीवनचक्रको भौतिक एवं मानसिक प्रभाव र पुरानो पुस्ताको राजनीतिक अक्षमताका कारण पुस्तान्तरणको गतिले तीव्रता पाएको हो।
पुरानो पुस्ताले बाटो बिराउँदै जाँदा युवामा रहेको चेतना, प्रगतिशीलता र जागरुकताले मौन विद्रोहको रूप लिन्छ। शान्तिपूर्ण मौन विद्रोहमा शासकीय दमनको ठाउँ हुँदैन। युवा वा बूढा जो भए पनि शासक वर्गले नागरिकको पीडाको आकलन गरी मौन विद्रोह विस्फोट हुनुपूर्व उपचार गर्नुपर्छ। उपचारका क्रममा शासकीय क्रूर अस्त्रको प्रयोग गरी दमनको बाटो अपनाएमा शान्तिपूर्ण विरोधले हिंसात्मक तथा विध्वंसको बाटो लिन्छ।
संयुक्त राज्य अमेरिका, युरोप, दक्षिण अमेरिका र एसियाका केही मुलुकहरूको प्रवृत्तिमा पुरानो पुस्ताको कार्यक्षमतामाथि प्रश्न उठाई नयाँ पुस्ताको प्रभुत्व देखिने राजनीतिक अभियानले वर्तमानमा तीव्रता पाएको छ।
पुस्तान्तरणको बहस
राजनीतिक पुस्तान्तरणको चर्चा नेपाललगायत विश्वमा यतिखेर चर्को रूपमा उठेको छ। दलभित्र र दलबाहिर यस्तो चर्चा आउनुमा पुरानो पुस्ताको असहज व्यवहारलाई सुधार गरेर राजनीतिलाई स्वच्छ बाटोमा हिँडाउन सकिन्छ कि भन्ने अभिप्राय देखिन्छ। विसं २०८२ को निर्वाचन परिणामले नेपालमा पनि यसलाई पुष्टि गरेको छ।
बहुदलीय व्यवस्थामा संलग्न एवं सक्रिय रहेका दाहिने, देब्रे, केन्द्रमुखी र मध्यमार्गी विचारमा आबद्ध दल तथा पात्रहरूभित्र र समग्र राजनीतिको सामाजिकीकरणमा पुरानो पुस्ता र नयाँ पुस्ताबीचको राजनीतिक सम्बन्ध, व्यवहार र सोचमा करिब तीन दशकअगाडिदेखि नै सत्ता नेतृत्वका लागि पुस्तान्तरणको बहस हुँदै आइरहेको हो। सत्ता प्राप्तिका लागि दलहरू फुट्ने र जुट्ने क्रममा पुस्तान्तरणरूपी औजार पनि प्रयोग भएको छ।
बहुदलीय व्यवस्थामा प्राप्त राजनीतिक दलीय छनोटको सुविधा उपयोग गरी उदारवादी, अनुदारवादी, वामपन्थी वा दक्षिणपन्थी दलहरूमध्ये अधिकांश पूर्वप्रभावित राजनीतिको विचार तथा निष्ठातर्फ व्यक्ति आकृष्ट हुने गरेको पाइन्छ।
दलीय नेतृत्वको त्याग, तपस्या, हाउभाउ, प्रभाव र राजनीतिक विचार तथा वादमा आधारित विगतको राजनीतिमा विश्वमा राजनीतिको सामाजिकीकरणतर्फ उल्लेख्य विस्तार एवं परिवर्तनका आयाम देखापरिरहेका छन्। दलीय राजनीतिमा पुस्तान्तरणको महत्त्व बढ्दै गएको छ।
नेपालमा जेन–जी आन्दोलनका रूपमा युवा आक्रामकता प्रकट भएको छ। अरू केही मुलुकमा पनि युवा पुस्ताले पुरानो पुस्तालाई राजनीतिक सामाजिकीकरणमा डोर्याउँदै छन्। नेपालको करिब एक शताब्दीमा शासकीय पद्धतिमा पटक–पटक जनविद्रोह तथा जनआन्दोलन भएका छन्। सबै आन्दोलनमा युवा पुस्ताको भूमिका प्रमुख रहेकै हो।
राजनीतिमा नयाँ कि पुरानो पुस्ताको नेतृत्व भन्ने बहस विगतदेखि चल्दै आएको भए पनि जेन–जी आन्दोलन र निर्वाचनको परिणामपछि यो बहसले तीव्रता पाएको छ। नागरिकको राजनीतिक मनःस्थितिको परिवर्तनमा कुनै एउटै खास तत्त्व अर्थात् उमेर समूहको मात्र प्रभाव पर्याप्त नभएर विगतका शासकको कार्यदक्षता, कौशल, नागरिकप्रतिको सम्मान र सुशासनको अवस्थाले समेत निर्धारण गर्छ।
लोकतान्त्रिक मुलुकमा आवधिक निर्वाचनको माध्यमबाट सरकार परिवर्तन हुने मान्यता भए पनि सरकारको कुशासन तथा अकर्मण्यताका कारण सिर्जित विद्रोह तथा आन्दोलनबाट समेत शासकीय पद्धति र सत्ता परिवर्तन हुने तथ्य नेपालको इतिहासले स्पष्ट गरेको छ।
आजको युवा पुस्ता भोलि पुरानो पुस्ता हुने ध्रुव सत्यलाई आजै आत्मसात् गर्न सक्नुपर्छ। शान्ति, समृद्धि र उन्नतिका बाटोलाई अहंभावले लत्याएर हिँडेमा पुस्तान्तरण केवल सोचमा नै सीमित रहन्छ।
एकातिर पुरानो पुस्ताले समाजको परिवर्तित स्वरूपलाई आत्मसात् गर्न नसक्दा परिवार तथा समाज क्षतविक्षत हुन पुगेको छ। अर्कोतर्फ प्रगतिशीलताको नाममा नयाँ पुस्ताले बोक्नै नसक्ने उच्छृङ्खलताको भारी बोकेर भुइँमा न भाँडामा बनी अराजक तवरले हिँड्दा सामाजिक संरचनामा खलल पुर्याएको छ। परिवर्तित वास्तविकता मनन गरी पुराना र नयाँ पुस्ताबीचको सम्बन्धको व्यवस्थापन, समन्वय र सन्तुलनको मध्यमार्गी बाटो हिँडेमा प्रदूषित समाजलाई स्वस्थ बनाई एकीकृत स्वस्थ समाज निर्माणमा सहयोग पुग्नेछ।
राजनीतिक दृष्टिले नयाँ पुस्ता खास–खास सवालमा बढी केन्द्रित हुने र पुरानो पुस्ता विरासतको निरन्तरतामा बाँधिएर रहने स्थिति देखिएको छ। दलीय राजनीतिमा विरासतको भूमिका महत्त्वपूर्ण रहँदै आएकामा नयाँ पुस्ताले यस्तो परम्परा तोडेको तथ्य २०८२ फागुनको निर्वाचनले पुष्टि गरेको छ।
निर्वाचनको क्रममा नयाँ पुस्ताको नारा सुशासन, आप्रवासन, आय वितरण, विदेश सम्बन्ध, वातावरण संरक्षण, रोजगारी र आर्थिक समृद्धिका विषयमा बढी केन्द्रित भएको पाइन्छ। युवा मतदाताको प्राथमिकतामा रोजगारी, शिक्षा, नवीन प्रविधि, आर्थिक समृद्धि, पूर्वाधार र भविष्यको सुनिश्चितता पर्छन्।
पुरानो पुस्ताले विरासत, विचार, संस्कृति, परम्परा, समृद्धि र सामाजिक सुरक्षालाई निरन्तरता दिने वाचा गरेका छन्। प्रौढ तथा वृद्ध मतदाताले सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, कृषि अनुदान, सांस्कृतिक संरक्षणलाई बढी महत्त्व दिन्छन्। दुई पुस्ताबीच क्षेत्रगत हिसाबले प्राथमिकतामा केही फरकपन र केही समानता हुनु स्वाभाविक हो। अविकसित क्षेत्र, भौगोलिक विकटता, ग्रामीण क्षेत्र, आयस्तर र स्थानीय आवश्यकताका आधारमा मतदाताको प्राथमिकतामा फरकपन हुनु स्वाभाविक हो। यसले दलहरूलाई विरासतमा भन्दा विषयमा केन्द्रित हुनुपर्ने पाठ सिकाएको छ।
आर्थिक समृद्धि, राष्ट्रिय स्वार्थ, समाज रूपान्तरण र सुशासनको नारा सबै दलले रटेका थिए। सामान्य अवस्था नभई आन्दोलनको आधारमा भएको निर्वाचनमा विरासतले भन्दा राजनीतिक मुद्दाले मुख्य प्राथमिकता पाउनु स्वाभाविक थियो। साथै कार्यान्वयनमा इमानदारी, पारदर्शिता र जवाफदेहिताको प्रश्न मुख्य थियो। पुराना दलले आर्थिक समृद्धि, पूर्वाधार विकास र सामाजिक क्षेत्रमा पुर्याएको उपलब्धि गौण हुन पुग्यो। कुशासन, कमजोर सेवा प्रवाह र तालमेलको अस्थिर राजनीतिले जनस्तरमा बढाएको निराशाले पुरानो पुस्तालाई पाखा लगाई नयाँ पुस्ता सत्तामा पुग्यो।
आगामी दिनमा आर्थिक समृद्धि, सुशासन, राष्ट्रिय हित र सामाजिक रूपान्तरणमा सरकारले प्राप्त गरेको उपलब्धिका आधारमा जनताले सरकारको मूल्यांकन गर्नेछन्। पुस्तान्तरणको दबाब दलको आन्तरिक क्रियाकलापमा मात्र सीमित रहनेछैन। दलीय आबद्धताबाहिरका नागरिक अर्थात् जनसाधारणमा पनि पुस्तान्तरणको प्रभाव बढ्दो छ।
नेपालका पुराना दलहरूभित्र पुस्तान्तरणको आवाज चर्को स्वरमा उठेको छ। नेतृत्वमा वृद्धहरूको वर्चस्वका कारण असन्तुष्टि, गुटबन्दी, विभाजन र सत्ता केन्द्रित एकीकरणका घटनाक्रमले दलहरूप्रतिको विश्वसनीयता घटाएको छ।
दलहरूले रूख, सूर्य, हँसिया–हथौडा, घन्टी आदि प्रकृतिसम्बन्धी एवं युवा महत्त्व झल्काउने चुनाव चिह्नको उपयोग गरिरहेका छन्। प्रकृतिको नियमअनुसार नयाँ पालुवा पलाउन पुरानो झर्नुपर्ने, सूर्य–चन्द्र उदाउँछन्, अस्ताउँछन् र समय–समयमा ग्रहण लाग्छ। हँसिया–हथौडामा खिया लाग्दा पाइन हाल्नुपर्छ। हलो जोत्न तन्दुरुस्त युवा चाहिन्छ।
संस्कृति, परम्पराको निरन्तरतामा नयाँ पुस्ताको सहभागिता चाहिन्छ। कलकारखाना चलाउन युवा चाहिन्छ। यस्तो स्थितिमा परिवार वा राज्यको अभिभावकको छाता ओढ्नुपर्ने पुरानो पुस्ताले ‘म’ को अहंभाव त्यागेर असल अभिभावक, अनुभवी मार्गदर्शक, इमानदार सल्लाहकारको रूपमा रही प्रभावकारी भूमिका निभाउनु उचित हुन्छ।
जनसांख्यिक स्थिति
व्यक्तिको जीवनमा १५ वर्षदेखि २५ वर्षको उमेरलाई रचनात्मक अवधि मानिन्छ। यो उमेर अवधिमा व्यक्तिको मनमा परेको छाप लामो उमेरसम्म दिगो हुने देखिएको छ। राजनीतिक, सामाजिक र आर्थिक रूपमा व्यक्तिको चरित्र, संस्कार र भविष्य कोर्ने उमेर अवधि यही नै हो। युवा तथा प्रौढावस्थामा रचनात्मक अवधिको सदुपयोगले प्राप्त गरेको ज्ञान, कौशल र संस्कारलाई इमानदारी, लगन र कौशलले जीवनलाई सफलतामा परिणत गर्ने हो।
विसं २०७८ सालको जनगणनाअनुसार जनसंख्याको बनोटमा १५ वर्षदेखि ५९ वर्ष उमेर समूहका ६२ प्रतिशत, ६० वर्षमाथिका १० प्रतिशत र १४ वर्षभन्दा कम उमेरका २८ प्रतिशत जनसंख्या छ। युवा तथा प्रौढ जनसङ्ख्या ६२ प्रतिशत भएकाले आर्थिक, सामाजिक तथा राजनीतिक क्रियाकलापमा यो समूहको वर्चस्व छ। घरपरिवारका हिसाबले कुल ६६ लाख ६७ हजार घरपरिवारमध्ये १५ लाख ५६ हजार घरपरिवारका कुनै न कुनै सदस्य विदेशमा छन्। अर्थात् विदेशमा रहेका युवा समूहको प्रभाव २३ प्रतिशत घरपरिवारमा छ। कुल मतदाता सङ्ख्याको करिब १२ प्रतिशत मतदाता विदेशमा छन्।
दलीय नीति तथा कार्यक्रमले जेन–जी, युवा, प्रौढ र वृद्ध सबै समूहलाई नयाँ पुस्ताका आकांक्षा समेट्ने प्रगतिशील नारा र सोही समूहका उम्मेदवारलाई आउँदो निर्वाचनमा अगाडि सार्नुपर्ने बाध्यता दलहरूलाई छ। पुराना दलहरूमा अझै पनि व्यक्तिगत टकराव, समूहगत विवाद, मुद्दामामिलाको चक्कर र सत्ता अहम् कायमै छ। यस्तो स्थितिको निरन्तरताको गन्तव्यविन्दु भास नै हो।
वृद्ध अवस्थामा शारीरिक सक्रियतामा कमी आए पनि मानसिक सक्रियता कमजोर पार्नु हुँदैन। यसमा अपवाद नभएको होइन। रचनात्मक अवधिमा विविध कारणले अवसर नपाएका, अवसर पाएर पनि गुमाएका, थाकेका, अति महत्त्वाकांक्षी र अवसरवादको आकर्षणमा परी स्थिर रहन नसक्ने चरित्र सामाजिक संरचनाभित्र नभएको होइन। समाजमा मानवीय चरित्रको विविध चञ्चल पाटो रहनु स्वाभाविक हो।
व्यक्तिले पहिचान खोज्ने सन्दर्भमा निराशा, वितृष्णा र दबिएको मानसिकताको विकल्प स्वाभाविक रूपले आशा, भरोसा र समानताको आधारमा खोज्छ। राजनीतिमा सक्रिय व्यक्ति सामान्यतया राजनीतिबाट सन्यास लिन सक्तैन।
पुस्तान्तरणले राजनीतिक प्रवृत्ति, व्यवहार र आर्थिक–सामाजिक परिवर्तनको अपेक्षा राख्छ। युवा समूह आन्दोलनको मोर्चामा सधैँ अगाडि रहने यथार्थ हो। तर राजनीतिको अग्रपंक्तिमा अपवादबाहेक पछाडि परेका छन्। यसो हुनुमा ‘जीवनचक्र’को प्रभाव, पुरानो पुस्ताको अंकुश, आत्मरक्षाका लागि छहारीको खोजी र आत्मविश्वासको कमी जस्ता कारणले भूमिका खेलेको छ।
पदीय राजनीतिबाट विश्राम लिने उपल्लो उमेर विधि–विधानले तोकेको छैन। यसको पक्षमा बहस गर्नेहरूले उमेरभन्दा नेतृत्वको विचार, योग्यता, निर्णय क्षमता, तन्दुरुस्ती र गतिशीलतालाई महत्त्व दिई उमेर हद आवश्यक नपर्ने धारणा व्यक्त गरेको पाइन्छ। तर नेपालका पुराना दलहरूमा उमेर हद राख्नुपर्ने पक्षमा सशक्त आवाज उठेको छ। वर्तमान परिप्रेक्ष्यमा दलको विधानमा पदाधिकारीका लागि उमेर हद राख्नु उपयुक्त नै होला।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्