काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक विभागले ट्रयाक निर्माणको काम सुरु गरेको छ ।
राजधानीलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडकखण्ड अवरुद्ध भएपछि विभागले शुक्रबारदेखि कृष्णभीरमा दुवैतर्फबाट पहाड काटेर ट्रयाक खोल्न थालेको हो ।
सडक विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलका अनुसार बिहानदेखि दुईवटा उपकरण प्रयोग गरी सडकको दुवैतर्फबाट पहाड काट्ने काम भइरहेको छ । शुक्रबारसम्म करिब ५० मिटर ट्रयाक निर्माण भइसकेको उनले जानकारी दिए ।
“बिहानदेखि दुई वटा उपकरणमार्फत दुवैतर्फबाट पहाड काट्ने काम सुरु भइसकेको छ । अहिलेसम्म करिब ५० मिटर ट्रयाक निर्माण सम्पन्न भइसकेको छ,” पौडेलले भने, “यो मेसिन प्रवेश गर्ने ट्रयाक मात्र हो । सवारी गुड्ने ट्रयाक होइन । काम गर्दै छौँ । अहिले नै कति दिनमा सकिन्छ भन्न सकिने अवस्था छैन ।”
२५० मिटरसम्म ट्रयाक बनाउनुपर्ने हुनसक्ने
गत भदौ १४ गते त्रिशूली नदीको बहावले सडकको जग बगाएपछि कृष्णभीरमा करिब १०० मिटर सडक भासिएको थियो । सडकलाई घुमाएर नयाँ ट्रयाक खोल्नुपर्ने भएकाले करिब २०० देखि २५० मिटरसम्म ट्रयाक निर्माण गर्नुपर्ने हुनसक्ने पौडेलले बताए ।
तर ५० मिटर ट्रयाक खनेपछि चट्टान भेटिन थालेकाले अपेक्षित गतिमा काम अघि बढाउन कठिनाइ भएको विभागको भनाइ छ ।
हाल निर्माण भइरहेको ट्रयाक सवारीसाधन सञ्चालनका लागि नभई आवश्यक उपकरण तथा निर्माण सामग्री घटनास्थलसम्म पुर्याउनका लागि बनाइएको हो । त्यसपछि सडक सञ्चालनका लागि आवश्यक थप संरचना निर्माण गरिनेछ ।
पृथ्वी राजमार्गको कृष्णभीर खण्ड भासिएपछि राजधानी प्रवेश गर्ने तथा बाहिरिने प्रमुख सडक सम्पर्क प्रभावित भएको छ ।
राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ आवतजावतका लागि वैकल्पिक सडक प्रयोग भइरहेको छ । वैकल्पिक मार्गमा सवारीसाधनको चाप बढ्दा यात्राको समयसमेत लम्बिएको छ ।
कृष्णभीरमा ट्रयाक निर्माणको काम अघि बढेपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनका लागि प्रारम्भिक प्रक्रिया सुरु भएको छ । यद्यपि, चट्टान तथा भौगोलिक अवस्थाका कारण सडक पूर्ण रूपमा कहिले सञ्चालनमा आउने भन्ने यकिन भइसकेको छैन ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्