ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आकाशमा उड्ने आशा : भोटेकोसीको उद्धारमा क्याप्टेन प्रिया


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   ९ : २५   बजे

 

काठमाडौं । नेपालका पहाडी र दुर्गम हिमाली क्षेत्रमा हेलिकप्टर देखिनु आफैंमा एउटा आशाको संकेत हो। जमिनमा बाटो बन्द भएका बेला आकाशबाट आउने हेलिकप्टरले धेरैका लागि उद्धारको सम्भावना बोकेको हुन्छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि यस्तै आशाको एउटा महत्वपूर्ण हिस्सा बनेकी छन्—क्याप्टेन प्रिया अधिकारी।

भोटेकोसीको बाढीले सडक बगाएको छ। पुलहरू छैनन्। पहाडका भिरहरू पहिरोले चिरिएका छन्। चारैतिर पानी, हिलो, ढुंगा र भग्नावशेष छ। जमिनबाट पुग्न सकिने बाटो लगभग बन्द भएका बेला आकाशमा भने हेलिकप्टरहरू निरन्तर ओहोरदोहोर गरिरहेका छन्।

त्यही उद्धार उडानमा प्रिया पनि छिन्।

रसुवाको टिमुरेलगायत क्षेत्रमा फसेका सयौँ मानिसलाई सुरक्षित स्थानमा सार्न हेलिकप्टर प्रमुख माध्यम बनेका छन्। हरेक उडान केवल एउटा उडान होइन—त्यससँग कसैको जीवन, परिवार र घर फर्कने प्रतीक्षा जोडिएको छ।

‘हामीलाई यसैका लागि तालिम दिइएको हो’

सीएनएनसँगको कुराकानीमा क्याप्टेन अधिकारीले आफ्नो टोलीले टिमुरेबाट मात्रै २०० भन्दा बढी मानिसको उद्धार गरेको बताएकी छन्। उनका अनुसार आफूहरूले उद्धार गरेको क्षेत्रमा पाँचवटा जलविद्युत् आयोजना र पूरै गाउँ बाढीले बगाएको थियो।

उनले यसपटक करिब १०० उद्धार उडान गरिसकेको बताएकी छन्।

तर एउटै क्षेत्रमा ठूलो संख्यामा हेलिकप्टर परिचालन हुँदा उद्धार उडान झनै चुनौतीपूर्ण बन्छ। अधिकारीका अनुसार एउटै क्षेत्रमा करिब २० वटा हेलिकप्टर सञ्चालन भइरहेका बेला पाइलटहरूले रेडियोमार्फत निरन्तर समन्वय गर्नुपरेको थियो। कतिपय स्थानमा पाँच–छ वटा हेलिकप्टरले एउटै क्षेत्रबाट मानिस उद्धार गर्नुपर्ने अवस्था थियो।

त्यस्तो अवस्थामा हेलिकप्टर उडाउनु मात्र पर्याप्त हुँदैन। कहाँ अवतरण गर्ने, जमिन कति स्थिर छ, अर्को हेलिकप्टर कहाँ छ र कहिले उडान भर्ने—यी सबै निर्णय केही सेकेन्डमै गर्नुपर्ने हुन्छ।

निरन्तर उडानका कारण आफूहरू थाकिसकेको उल्लेख गर्दै उनले सीएनएनसँग भनेकी थिइन्, ‘हामीलाई यसैका लागि तालिम दिइएको हो।’

आकाशबाट देखिएको विनाशले उनलाई अर्को मानसिक परीक्षासमेत दिएको थियो।

उनले एनडीटीभी इन्डियासँग भनेकी छन्, ‘हावाबाट देखिएको विनाश आफैंमा अर्को मानसिक परीक्षा थियो। तर जीवित मानिसहरूले उद्धारको आशामा हात हल्लाएको दृश्यले फेरि उडान भर्न प्रेरित गर्छ।’

२०१५ को भूकम्प सम्झाउने, तर आफ्नै किसिमको विपत्ति

हिमाली क्षेत्रमा खोज तथा उद्धार उडानको लामो अनुभव भएकी प्रियाका लागि पनि सन् २०२६ को बाढी असाधारण चुनौती बनेको छ।

उनले रसुवा–भोटेकोसीको विपत्तिलाई सन् २०१५ को भूकम्प सम्झाउने, तर आफ्नै किसिमको कठिन विपत्तिका रूपमा वर्णन गरेकी छन्।

भूकम्पमा ठूलो भूभागमा क्षति फैलिएको थियो। अहिलेको विनाश भने साँघुरा हिमाली उपत्यकाभित्र केन्द्रित छ। सीमित क्षेत्रमा ठूलो संख्यामा मानिस फसेका छन् र उद्धारका लागि त्यही क्षेत्रमा धेरै हेलिकप्टर लगातार सञ्चालन गर्नुपर्ने अवस्था छ।

यस्तो भूगोलमा मौसम, हावाको गति, अवतरणस्थल र उद्धार गर्नुपर्ने मानिसको अवस्थाबीच तत्काल निर्णय लिनुपर्ने हुन्छ।

उच्च हिमाली उद्धार पाइलटका लागि त्यसैले उडान केवल आकाशमा हेलिकप्टर चलाउने काम होइन। भूगोल, मौसम, उचाइ, जोखिम र मानवीय अवस्थालाई एकैपटक पढेर निर्णय गर्ने जिम्मेवारी पनि हो।

६ हजार २०० मिटरको उचाइसम्मको उडान

प्रियाले ६ हजार २०० मिटरको उचाइमा हेलिकप्टर ल्याण्ड गरिसकेकी छन्। उनी नेपालमा उच्च उचाइको खोज तथा उद्धार मिसनमा उडान भर्ने पहिलो महिला क्याप्टेन भएको दाबी गरिएको छ।

सन् २०१७ मा महिला हेलिकप्टर क्याप्टेन बनेपछि उनको काम सामान्य उडानमा मात्र सीमित रहेन। बिस्तारै उनी उच्च हिमाली क्षेत्रमा खोज तथा उद्धार गर्ने पाइलटका रूपमा स्थापित हुँदै गइन्।

तेन्जिङ हिलारी खोज तथा उद्धार पुरस्कारसमेत प्राप्त गरेकी उनी हिमाली उद्धार अभियानमा लामो समयदेखि सक्रिय छिन्।

हेलिकप्टर पाइलटको पेशा लामो समयदेखि पुरुषको बाहुल्य रहेको क्षेत्रमा उनी अपवादका रूपमा स्थापित भएकी छन्। आफूलाई तालिम दिनेहरू पुरुष भए पनि अन्ततः हेलिकप्टर उडाउने र जोखिमपूर्ण अवस्थामा निर्णय लिने जिम्मेवारी आफ्नै भएको उनले बताउँदै आएकी छन्।

क्याबिन क्रुदेखि ककपिटसम्म

प्रियाको ककपिटसम्मको यात्रा भने सीधा थिएन।

वातावरण विज्ञानमा स्नातक र एमबीए अध्ययन गरेकी उनी सुरुमा बुद्ध एयरको हेलिकप्टरमा क्याबिन क्रुका रूपमा काम गर्थिन्। त्यही क्रममा हेलिकप्टरमा गरिएको एउटा ‘जोयराइड’ले उनको जीवनको दिशा बदलिदियो।

उनले एउटा कार्यक्रममा भनेकी छन्, ‘पहिलोपटक हेलिकप्टरमा बसेर जब पृथ्वीलाई आफ्नै आँखाले देखें, अनि लाग्यो संसार अर्कै अनुभूत गरें।’

हेलिकप्टरको अगाडि रहेको ठूलो सिसाबाट तलको संसार हेर्दा उनमा पाइलट बन्ने रुचि जाग्यो।

त्यसपछि उनी हेलिकप्टर पाइलटको तालिमका लागि फिलिपिन्स पुगिन्।

नेपाल फर्किएपछि भने अर्को संघर्ष सुरु भयो। व्यावसायिक हेलिकप्टर पाइलटका रूपमा लाइसेन्स लिनुपर्ने थियो। परीक्षा निश्चित अन्तरालमा मात्र खुल्थ्यो। पाइलट बन्नका लागि ठूलो आर्थिक लगानी आवश्यक थियो।

उनले विभिन्न अन्तर्वार्तामा आफूलाई क्याप्टेन बनाउन परिवारले गरेको संघर्ष र आफूले लिएको ऋणबारे बताएकी छन्। पहिलो प्रयास असफल भएपछि उनी निराश भएर अस्ट्रेलिया गइन्।

तर यात्राले त्यहीँ पूर्णविराम पाएन।

सन् २०११ मा नेपाल फर्किएर परीक्षा दिइन् र पास भइन्।

त्यसयता उनको जीवन हेलिकप्टरको ककपिटसँग जोडिएको छ।

आमाको सोचले देखाएको बाटो

प्रियाको यात्रामा उनकी आमाको भूमिका महत्वपूर्ण छ।

पाँच दिदीबहिनीमध्ये एक प्रिया। समाजका कतिपय मानिसले छोरीलाई धेरै पढाउन आवश्यक नभएको भन्दै प्रश्न उठाउँदा पनि उनकी आमा आफ्नो सोचबाट पछि हटिनन्।

छोरीहरूलाई छोरासरह शिक्षा दिनुपर्छ भन्ने उनको विश्वास थियो।

प्रियाले आफू कमजोर विद्यार्थी भए पनि प्लस टुपछि विज्ञान पढेको बताएकी छन्। विज्ञान पढेपछि डाक्टर वा नर्स बन्ने बाटो खुल्ने उनको सोच थियो।

तर जीवनले उनलाई अर्कै दिशातर्फ लग्यो।

एक दिन कान्छी बहिनीले एयरहोस्टेजको विज्ञापन देखाइन्। उनले आवेदन दिइन् र २००६ मा बुद्ध एयरको क्याबिन क्रुका रूपमा काम सुरु गरिन्।

त्यहीँबाट हेलिकप्टरको ककपिटसम्म पुग्ने यात्रा सुरु भयो।

मिस नेपालको मञ्चदेखि हिमाली उद्धारसम्म

प्रियाको जीवनमा अर्को रोचक अध्याय पनि छ—सौन्दर्य प्रतियोगिता।

उनी सन् २००८ मा मिस नेपाल प्रतियोगितामा सहभागी भएकी थिइन्। विभिन्न अन्तर्वार्तामा उनले आमाको चाहनामा प्रतियोगितामा सहभागी भएको र त्यसबाट धेरै कुरा सिकेको बताएकी छन्। उनले अभिनयसमेत गरेकी छन्।

तर उनको वास्तविक करिअरले त्यसपछि बिल्कुलै फरक मोड लियो।

सौन्दर्य प्रतियोगिताको मञ्चदेखि ककपिटसम्म, क्याबिन क्रुदेखि पाइलटसम्म र सामान्य उडानदेखि उच्च हिमाली उद्धारसम्म।

प्रियाको यात्रा पटक–पटक नयाँ दिशामा मोडिएको छ।

आफ्नै जीवनमा पनि दुर्घटनाको सामना

अरूको जीवन बचाउन उड्ने प्रियाले आफैंले पनि दुर्घटनाको सामना गरेकी छन्।

२०७९ सालमा धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा हेलिकप्टर अवतरणका क्रममा उनी दुर्घटनामा परेकी थिइन्। घटनामा मानवीय क्षति नभए पनि त्यो अनुभव एउटा पाइलटका लागि ठूलो परीक्षा थियो।

तर उनले उडान छाडिनन्।

बरु त्यसपछि पनि हिमाली उडान र उद्धार अभियानलाई निरन्तरता दिइरहिन्।

उद्धारका क्रममा कतिपय मिसन अधुरै छोडेर फर्किनुपर्ने अवस्था पनि आएको उनले सुनाएकी छन्। तर खोजी जारी राख्दा उद्धार गर्नुपर्ने व्यक्ति भेटिएको र सुरक्षित निकाल्न सफल भएका क्षणहरू उनका लागि सबैभन्दा ठूलो प्रेरणा बनेका छन्।

उनका लागि सफल उद्धारको पुरस्कार पदकभन्दा फरक छ—कसैको जीवन जोगिएको क्षण।

चक्कु किन बोक्छिन् प्रिया ?

उच्च हिमाली क्षेत्रमा जोखिमपूर्ण उडान गर्ने प्रियाले यात्राका क्रममा चक्कु पनि साथमा राख्ने गरेको बताएकी छन्।

तर यसको कारण रहस्यमय छैन।

उनका अनुसार चक्कु सर्भाइभर किटको एउटा हिस्सा हो। कठिन परिस्थितिमा सुरक्षाका लागि आवश्यक सामग्रीका रूपमा उनले यसलाई साथमा राख्ने गरेकी हुन्।

हिमालसँग उनको सम्बन्ध उद्धार र उडानमा मात्र सीमित छैन।

गोसाइँकुण्डजस्ता धार्मिक तथा हिमाली क्षेत्रमा पुग्ने मानिसहरूले वातावरणप्रतिको जिम्मेवारी पनि सम्झिनुपर्ने उनको धारणा छ। विशेषगरी आफूले उत्पादन गरेको फोहोर आफैंसँग लिएर फर्किनुपर्ने उनको आग्रह छ।

आकाशमा देखिने एउटा आशा

पितृसत्तात्मक समाजमा ‘महिलाले सक्छिन् कि सक्दिनन्’ भन्ने प्रश्न बारम्बार उठ्ने गरेको छ।

प्रियाले त्यसको जवाफ भाषणबाट होइन, ककपिटबाट दिएकी छन्।

उनले समाजले महिलाका लागि कोरेका सीमाभन्दा बाहिर निस्किएर पाइलटको पेशा रोजिन्। त्यसपछि हिमाल रोजिन्। हिमालबाट उद्धार रोजिन्। र उद्धारमार्फत आफ्नो जीवनलाई अरूको जीवनसँग जोडिन्।

उनको चाहना पनि असाधारणभन्दा सरल छ—उमेरले साथ दिइन्जेल हेलिकप्टर पाइलटका रूपमा काम गरिरहने।

आज भोटेकोसीको बाढीले सडक र पुल बगाएको छ। जमिनबाट पुग्ने बाटाहरू रोकिएका छन्। तर आकाश खुला छ।

त्यही आकाशमा प्रिया उडिरहेकी छन्।

उनको हेलिकप्टर देखिनु त्यहाँ फसेका मानिसका लागि केवल एउटा यन्त्र आकाशमा उडिरहेको दृश्य होइन—‘बाटो बन्द भए पनि आशा बाँकी छ’ भन्ने संकेत हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृह मन्त्रालयले फेर्‍यो सीडीओको जिम्मेवारी, झापादेखि म्याग्दीसम्म नयाँ नियुक्ति

भोटेकोसी बाढीपीडितका लागि राष्ट्रसंघले ४ करोड ९६ लाख डलर सहयोग जुटाउने

सम्बन्धित

विपद्को समाचारमा विभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको निर्देशन

‘बाढी आयो रे’ सुनेर स्कुलतिर दौडिए, फर्किएनन् ८ जना

चीनको सिजाङबाट नेपाललाई दुईवटा बेलिब्रिजका सामग्री हस्तान्तरण

भोटेकोसी बाढी : सुरक्षाकर्मीका परिवारलाई लाखौँ राहत, सन्तानको निःशुल्क शिक्षादेखि ऋण मिनाहासम्म

लेदोमा थिचिएका कबीर, स्ल्याबमा अडिएका सञ्जय : १० दिनपछि दुवै जीवित उद्धार

जलवायु न्यायको माग जायज, तर कूटनीतिमा परिपक्वता अपरिहार्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu