काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ भने ४ हजार ४४ जना अझै सम्पर्कविहीन छन्।
प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ३२५ महिला, ५२३ पुरुष र ४९३ वटा शव पहिचान हुन नसक्ने अवस्थामा छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले अझै ४ हजार ४४ जना सम्पर्कविहीन रहेको जानकारी दिए।
सम्पर्कविहीन हुनेमा २ हजार ८६३ स्वदेशी पुरुष, ५७५ महिला, २६९ विदेशी पुरुष, ३३२ विदेशी महिला र अन्य पाँच जना रहेको प्रवक्ता काफ्लेले बताए।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ।
फेला परेका शवमध्ये १ हजार ३७ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
बाढीपछि हालसम्म ९ हजार १५१ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ९८ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ।
यसैगरी, मृतक १ हजार २८६ जना र मृतकका आफन्त १ हजार १८६ जना गरी कुल २ हजार ४७२ जनाको डीएनए नमूना संकलन गरिएको छ।
बेपत्ताको पहिचान तथा शवको सनाखतका लागि डीएनए नमूना संकलनलाई प्राथमिकताका साथ अघि बढाइएको प्रवक्ता काफ्लेले बताए। रासस
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्