काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाबीच आइतबार भेटवार्ता हुने भएको छ।
कोइरालाको सचिवालयका अनुसार थापा र कोइरालाबीच आइतबार दिउँसो भेटवार्ता गर्ने तयारी छ। तर, भेटको समय र स्थान भने अझै तय भइसकेको छैन।
यसअघि थापाले शनिबार कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग ‘वान–टु–वान’ भेटवार्ता गर्नुभएको थियो। उक्त भेटमा पार्टीभित्र देखिएको विवाद समाधानका लागि खड्काले अघि सारेका मागप्रति थापाले सकारात्मक प्रतिक्रिया जनाउनुभएको बताइएको छ।
कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि पछिल्लो समय खड्का र कोइराला सक्रिय रहनुभएको छ। यही क्रममा सभापति थापाले दुवै नेतासँग छुट्टाछुट्टै संवाद अघि बढाउनुभएको हो।
पार्टीभित्रको विवाद समाधान र आगामी राजनीतिक रणनीतिका विषयमा हुने यी भेटवार्तालाई कांग्रेसको आन्तरिक समीकरणका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्