काठमाडौं । भदौ १० गते आएको विनाशकारी भोटेकोसी बाढीले पुरिएको चिलिमे जलविद्युत् आयोजनामा आइतबार पनि खोज तथा उद्धार कार्य जारी छ।
आयोजना स्थलमा रहेका नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार बाढीले आयोजनाभित्र ठूलो मात्रामा लेदो र ढुंगा थुपारेकाले उद्धार कार्य निकै कठिन बनेको छ।
उनका अनुसार आयोजनाभित्र बाढीको लेदो करिब ३५ मिटरसम्म थुप्रिएको अनुमान गरिएको छ। उद्धार टोली प्रवेश गर्ने स्थानमै ठूला–ठूला ढुंगा रहेकाले थप कठिनाइ भएको छ।
“यहाँभित्र ३५ मिटर माथिसम्म बाढी गएको भन्ने छ। पस्ने ठाउँमा सबैतिर ठूला–ठूला ढुंगा छन्। ब्लास्ट गर्न पनि सम्भव देखिएन,” शाक्यले भने।
हाल एक्स्काभेटर प्रयोग गरेर लेदो तथा अवरोध हटाउने काम भइरहेको छ। ढुंगा फुटाउन थप एक्स्काभेटर ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।
“एक्स्काभेटरले सफा गरिरहेको छ। अहिले ढुंगा फुटाउन एक्स्काभेटर पनि ल्याउने तयारी भएको छ। यसले सफा गर्न केही सहज होला कि,” उनले भने।
शाक्यका अनुसार उद्धार स्थलको भौगोलिक अवस्था निकै अप्ठ्यारो रहेकाले उद्धार कार्य अपेक्षाअनुसार तीव्र गतिमा अघि बढ्न सकेको छैन।
ठूला ढुंगा, बाक्लो लेदो र साँघुरो प्रवेशमार्गका कारण उद्धार टोलीलाई जोखिम मोलेर काम गर्नुपर्ने अवस्था रहेको छ।
उनले उद्धार कार्य सम्पन्न हुन अझै केही दिन लाग्ने बताए।
भोटेकोसी बाढीपछि चिलिमे जलविद्युत् आयोजनाभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि सुरक्षाकर्मी, प्राविधिक तथा उद्धारकर्मीको टोली परिचालन गरिएको छ। अवरोध हटाउँदै सुरक्षित रूपमा आयोजनाभित्र प्रवेश गर्ने प्रयास भइरहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्