काठमाडौं । गृह मन्त्रालयले रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारलाई फिर्ता बोलाएको छ।
भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको निष्कर्षपछि परियारलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको मन्त्रालय स्रोतले जनाएको छ।
परियारले रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको दुई महिना पनि पूरा भएको थिएन। उनलाई मन्त्रालय तानिएपछि रसुवाको नयाँ सीडीओका रूपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमलप्रसाद पाण्डेलाई पठाइएको गृह मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
भोटेकोसी बाढीपछि रसुवामा उत्पन्न संकट व्यवस्थापन, खोज तथा उद्धार, राहत वितरण तथा विभिन्न सरकारी निकायबीचको समन्वयमा जिल्ला प्रशासन कार्यालयको भूमिकामाथि प्रश्न उठ्दै आएको थियो।
रसुवा भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानाले समेत जिल्ला प्रशासनको भूमिकामाथि सार्वजनिक रूपमै प्रश्न उठाएका थिए।
बाढीपछि जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। विशेषगरी रसुवागढी, गोसाइँकुण्ड तथा भोटेकोसी आसपासका क्षेत्रमा उद्धार, बेपत्ता व्यक्तिको खोजी, राहत वितरण र सडक तथा पूर्वाधार पुनःस्थापनामा चुनौती देखिएको थियो।
गृह मन्त्रालयले परियारलाई फिर्ता बोलाएसँगै नयाँ सीडीओ पाण्डेले जिल्लाको खोज तथा उद्धार, राहत व्यवस्थापन, सुरक्षा निकायबीचको समन्वय तथा विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्