काठमाडौं । इरानले आफूविरुद्ध हुने आगामी कुनै पनि आक्रमणको जवाफ यसअघि भन्दा तीव्र, कडा र पीडादायी हुने चेतावनी दिएको छ।
इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले आइतबार संसद्मा सम्बोधन गर्दै अमेरिकाले अब इरानसँगको युद्धका ‘नियम परिवर्तन भएको’ बुझ्नुपर्ने बताएका हुन्। उनका अनुसार इरानको ‘सीमित वा समानुपातिक जवाफ’ दिने चरण समाप्त भएको छ।
गालिबाफले भने, “अब इरानको हित र सुरक्षाविरुद्ध हुने कुनै पनि आक्रमणको जवाफ अझ छिटो, कडा र पीडादायी हुनेछ।”
उनले पछिल्लो समय इरानले अमेरिकी सैन्य अड्डालाई लक्षित गरी गरेको आक्रमण केवल सुरुवात भएको दाबी गरे। अमेरिका र उसका सहयोगीहरू इरानी आक्रमणबाट दबाबमा परेको दाबी गर्दै उनले युद्धभूमिको वास्तविकता लुकाउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी तस्बिर तथा भिडियो बनाउने गरेको आरोपसमेत लगाए।
गालिबाफको चेतावनी अमेरिकाले खाडी क्षेत्रमा इरानी तेल बोकेका केही ट्यांकरमाथि हमला गरेको एक दिनपछि आएको हो। पछिल्लो समय अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढ्दै गएपछि गालिबाफको भनाइले द्वन्द्व थप चर्किनसक्ने संकेत गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्