काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित ‘इक्वल अर्थ’ नक्सासम्बन्धी प्रस्तावप्रति भारतले आपत्ति जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जम्मु–कस्मिर र लद्दाखसहित भारतको सम्पूर्ण भूभाग आधिकारिक भारतीय नक्साअनुसार नै प्रस्तुत गर्नुपर्ने जनाएको छ ।
भारतले आफ्नो सीमा अटल रहेको भन्दै भारतीय भूभागलाई गलत वा भ्रामक रूपमा प्रस्तुत गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
भारतले विश्वका महाद्वीप तथा देशहरूको वास्तविक क्षेत्रफललाई सही अनुपातमा देखाउने उद्देश्यसहित ल्याइएको प्रस्तावको पक्षमा मतदान गरेको थियो । तर, प्रस्तावको समर्थन कुनै निश्चित नक्सा वा सीमा रेखालाई मान्यता दिनु नभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भारतका अनुसार प्रस्तावले कुनै पनि देशको सीमा वा सीमांकनलाई कानुनी मान्यता दिँदैन । त्यसैले जम्मु–कस्मिर र लद्दाखसहित भारतको भूभाग आधिकारिक नक्साअनुसार नै देखाइनुपर्ने उसको अडान छ ।
नयाँ नक्सांकन प्रविधिले पृथ्वीको गोलाकार सतहलाई समतल नक्सामा प्रस्तुत गर्ने क्रममा हुने क्षेत्रफलसम्बन्धी विकृति कम गर्ने भएकाले देशहरूको आकारमा केही फरक देखिन सक्छ । तर, यसले कुनै देशको वास्तविक भूभाग, अन्तर्राष्ट्रिय सीमा वा क्षेत्रफलमा परिवर्तन नगर्ने भारतको भनाइ छ ।
करिब ५०० वर्षदेखि प्रयोग हुँदै आएको मर्केटर नक्सामा भूमध्यरेखाबाट टाढाका क्षेत्रहरू वास्तविक आकारभन्दा ठूलो देखिने समस्या रहेको छ । नयाँ नक्साले यस्तो विकृति कम गर्ने उद्देश्य राखेको छ ।
अफ्रिकी मुलुकहरूले अघि सारेको उक्त प्रस्तावले विश्वको नक्सामा देशहरूको वास्तविक क्षेत्रफललाई तुलनात्मक रूपमा सही ढंगले प्रस्तुत गर्ने प्रयास गरेको हो । यद्यपि, सीमासम्बन्धी संवेदनशील विषयमा भारतले आफ्नो आधिकारिक नक्सालाई नै अन्तिम आधार मान्नुपर्ने स्पष्ट गरेको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्