काठमाडौं, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच करिब दुई मिनेट कुराकानी भएको छ । राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पले राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफल हुनु अघिल्लो दिन सोमबार साँझ आयोजना गरेको स्वागत कार्यक्रममा उभिएरै यस्तो छलफल भएको हो ।
स्वागत समारोहमा सहभागी हुने सबैसँग अमेरिकी राष्ट्रपतिले संक्षिप्त कुराकानी गर्दै फोटो खिच्ने प्रचलन छ । सबै सदस्य मुलुकका उच्चस्तरीय पाहुना आउने र छलफल हुनाले पनि यो स्वागत समारोह करिव पाँच घण्ट चल्छ । यही समयमा कुराकानीको मौका छोप्न ओली आफ्नो सम्बोधन भन्दा चार दिन पहिले नै न्यूयोर्क ओर्लेका हुन् ।
उनीहरुबीचको संक्षिप्त कुराकानी र छलफलमा सहभागिताबारे न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिंदै भनेको छ , ‘७३औँ महासभामा भाग लिन न्यूयोर्क आइपुगेका विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा गरिएको समारोहका प्रधानमन्त्री ओली र पत्नी राधिले सहभागिता जनाएका छन ।’
गत वर्ष तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सम्बोधन गर्ने गरी मात्र आएकाले स्वागत समारोहमा सहभागि भएनन् । उनी स्वागत समारोह सकिएको भोलिपल्ट आएका थिए । ओलीले परिचयसँगै भएको कुराकानी करिब दुई मिनेट मात्र रहेको जानकारी दिएका हुन् । उनले ट्रम्पले गरेको शान्तिको पहलको प्रशंसासमेत गर्न भ्याए ।
सिंगापुरको अमेरिका–उत्तर कोरिया वार्ताले विशवका सकारात्मक सन्देश दिएको बताएको उनले सुनाएका ब्यक्तिले जानकारी दिए । प्रधानमन्त्रीस्तरबाट चार वर्षपछि नेपालका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति भेटेका हुन् ।
प्रतिक्रिया दिनुहोस्