
सिरहा,२२ माघ । सिरहाको लहान नगरपालिका २४ का ३५ वर्षीय गजेन्द्र यादव भारतको पिप्राहीमा मृत अवस्थामा फेला परेका छन् । पिप्राही खोला र इँटा भट्टा नजिकै यादव मृत अवस्थामा फेला परेका हुन् ।
दिदीलाई घर पुर्याउन सिरहाको दक्षिणवर्ती गेरुवा गएका यादब मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार अपरान्ह ४ बजेतिर दिदी अनितालाई स ८ प ८४२७ नम्बरको मोटरसाइकलमा पुर्याउन गेरुवा गएका थिए । उनलाई पुर्याएर लहान फर्किएका यादब बेखबर भएपछि आफन्तले लहान ईलाका प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका थिए ।
गजेन्द्रका दाई योगेन्द्र बिहीबार वैदेशिक रोजगारीका लागि कतार जाने भएपछि भाईलाई भेट्न दिदी अनिता माइत आएकी थिइन् । हराएको दुई दिनपछि भारतको पिप्राहीमा गजेन्द्रको शव फेला परेको प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए । यादवले प्रयोग गरेको मोटरसाइकल र मोबाइल फेला परेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्