काठमाडौं, १४ मंसिर । निर्वाचन क्षेत्र नं ३ ‘ख’मा प्रदेशसभा सदस्य तथा घोराही उपमहानरपालिका–१६ को वडाध्यक्ष पदका लागि आज भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
प्रदेशसभा सदस्यका लागि भएको मतदानमा ६६।५३ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । कूल ४५ हजार ७१८ मत खसको छ । निर्वाचनमा २५ हजार ५९० महिला तथा २० हजार १२८ पुरुष मतदाताले मतदान गरेको थापाले बताउनुभयो । यस्तै घोराही उपमहानरपालिका–१६ को वडाध्यक्ष पदका लागि भएको मतदानमा ७२ दशमलव ४४ मत खसेको छ । कूल तीन हजार २२६ मत खसेको थियो । निर्वाचनमा एक हजार ८०८ महिला तथा एक हजार ४१८ पुरुषले मतदान गरेका छन् ।
दाङमा प्रदेशसभाका लागि ३२ मतदानस्थल तथा ७७ मतदान केन्द्रको व्यवस्था गरिएको थियो । कूल मतदाता ६८ हजास ७१९ रहेका थिए । घोराही–१६ मा चार हजार ४५३ मतदाता थिए । घोराही–१६ मा दुई मतदानस्थल तथा पाँच मतदान केन्द्र रहेका थिए । मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही ल्याउने क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस्