बुटवल, २९ मंसिर । प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिससहित तीन महिनाभित्र प्रतिवेदन पेश गर्नेगरी गठन भएको विशेष समितिले करिब डेढ वर्षमा त्यो पनि भारत भ्रमण गरेपछि मात्र प्रतिवेदन तयार पार्न सकेको छ । थप गरिएको ६ महिनाको अवधि सकिन एक दिन बांकी रहंदा समितिले प्रतिवेदन तयार गरेको हो ।
समितीले प्रदेशका बाह्रवटै जिल्लामा पुगेर राय सुझाव लिनुका साथै विज्ञहरु सम्मिलित समितिसंग सुझाव लिएपनि निश्कर्षमा पुग्न सकेको थिएन तर पछिल्लो समय भारतको चण्डिगढको भ्रमण सकेर फर्के लगत्तै समितीले प्रतिबेदन तयार पारेको छ । चण्डिगढको अध्ययनलाई समेत समेटेर प्रतिवेदन तयार गरिएको सकितीको दाबी छ । समितीले तयार पारेको प्रतिबेदनमा प्रदेशको राजधानी लुम्बिनी र राजधानी बाणगंगा बुद्धभुमि क्षेत्रलाई सिफारिस गरिएको समितीको उच्च श्रोतले जनाएको छ । प्रदेश सभाका १२ सांसदहरू र कर्मचारीको टोली मंसिर २१ गतेदेखि राजधानीका विषयमा अध्ययन गर्न एक साता लामो चण्डिगढ भ्रमण गएका थिए ।
समितीले तयार पारेको प्रतिवेदनलाई म्याद सकिने अन्तिम दिन सोमबार (मंसिर ३० गते) सभामुख पूर्णबहादुर घर्तीलाई बुझाइने विशेष समितिका संयोजक दिपेन्द्र पुनले जानकारी दिनुभयो ।
जिल्लाहरुमा सुझाव लिने क्रममा नक्कली सुझाव समावेश गरेको भन्दै समितीको आलोचना समेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्