काठमाडौं, ७ चैत । कोरोना भइरस (कोभिड–१९)को संक्रमणका कारण ट्राफिक प्रहरीले अत्यावश्यक अवस्थामा मात्र मादक पदार्थ सेवन (मापासे) जाँच गर्ने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर मापासे जाँच गर्ने तरिकामा केही परिवर्तन गरिएको बताउनुभयो । अत्याधिक मात्रामा मापसे सेवन गरी सवारी चलाएको भेटिए अस्पतालमा लगेर परीक्षण गरी आफन्तको जिम्मा लगाइने ढकालले बताउनुभयो । उहाँले पहिले जस्तो मेसिन लगाएर जाँच नगर्ने तर चालकले मापासे गरेको आशंका लागेमा अस्पताल लगेर जाँच गर्ने व्यवस्था गरिएको बताउनुभयो । जोखिमको अवस्थमा प्रहरीले चेक जाँच खुकुलो बनाएको मौकामा मापासे गरेर सवारी साधन नचलाउन समेत ढकालले आग्रह गर्नुभयो ।
महाशाखा प्रमुख ढकालले ट्राफिक प्रहरीले कोरोनाको संक्रमणबाट बच्न आजदेखि जनचेतनाको अभियान सञ्चालन गरिएको बताउनुभयो । उपत्यकाका ८० भन्दा बढी स्थानमा ट्राफिक प्रहरीको टिम परिचालन गरी कोरोना संक्रमणको जोखिमबाट बच्ने जनचेतनामुलक अभियान सञ्चालन गरिएको बताउनुभयो । ट्राफिक प्रहरीले उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुमा भिडभाड हुन नदिन र सवारी साधनको सरसफाइलाई ध्यान दिन यातायात व्यवसायीहरुलाई समेत सचेत गराएको छ ।
प्रतिक्रिया दिनुहोस्