काठमाडौं, १७ चैत । चीनले कोभिड १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामाग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपालस्थित चिनियाँ राजदुत होउ यान्छीले आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी ती सामानहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभएको हो ।
चिनिया दुतावास एवंम् सिन्चुवान प्रान्तीय सरकारले पुनः प्रयोग गर्न नसकिने मास्क २४ हजार थान, एन नाईन्टी फाईब मास्क २ हजार थान, चश्मा ५ सय थान, थर्मोमिटर १ सय थान, व्यक्तिगत सुरक्षा सामाग्री ५ सय ३० थान, भ्यान्टीलेटर एक थान र क्वारेन्टाईन टेबल ४ सय बक्सा उपलब्ध गराएको छ । त्यसैगरी अलिबाबा फाउन्डेसन र ज्याक मा फाउन्डेसनले ल् ढछ मास्क १ लाख २ सय थान र पिसिआर टेस्ट किट्स २ हजार ६४ थान उपलब्ध गराएको छ । चाईना सी ए एम सि इन्जिनियरिङ्ग कम्पनि लिमिटेडले व्यक्तिगत सुरक्षा सामाग्री २ सय थान, पुनः प्रयोग गर्न नमिल्ने मास्क २० हजार थान, चश्मा २ सय थान र पञ्जा २ हजार थान, उपलब्ध गराएको छ । सिन्चुवान हुसी गु्रपले २ हजार थान पुनः प्रयोग गर्न नमिल्ने मास्क, होङ्गसि सिमेन्ट कम्पनिले १ हजार थान व्यक्तिगत सुरक्षा सामाग्री र पिसिआर टेस्ट किट्स ३ हजार थान उपलब्ध गराएको छ ।
स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै चिनिया राजदुर होउ यान्छीले कोभिड १९ को समस्या कुनै पनि एउटा मुलुकको मात्रै समस्या र चासोको विषय नभएर विश्वव्यापी समस्या भएकाले आफ्नो मुलुक नेपाल संगै अन्तरराष्ट्रिय स्तरमा नै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
सामान हस्तान्तरणपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले चीनबाट प्राप्त सहयोगले नेपालमा कोभिड १९ को रोकथाम एवं उपचार र व्यवस्थापन कार्यमा सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । असल छिमेकीको रुपमा एक अर्कालाई सहयोग गर्ने असल परम्परालाई कायम राख्दै चीन सरकार र चीनका विभिन्न संस्थाहरुबाट प्राप्त सहयोगको मन्त्री ढकालले प्रशंशा गर्दै ती संस्थालाई धन्यवाद पनि दिनुभयो । कोरोना भाइरस चीनमा मात्रै फैलिन्छ भने सुरुमा चीनप्रति नकारात्मक संदेश भाव राख्नेहरुले यो रोग सबैतिर फैलिएपछि चीनको मात्र नभै विश्वव्यापी भएको भन्न बाध्य भएको उहांले बताउनुभयो । ढकालले विश्वव्यापी महामारीको रुपमा फैलिएको रोगलाई पनि नियन्त्रण गर्ने कुराको नेतृत्व गर्ने चिनीयाँ सरकार, राष्ट्रपति, प्रधानमन्त्री लगायत त्यहाँको कुशल नेतृत्वप्रति पनि म नेपाली जनताको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।
मन्त्री ढकालले कोभिड १९ बाट अति प्रभावित हुने कुराबाट जोखिम न्यूनीकरणका लागि विश्वका विभिन्न मुलुकले अपनाएको लकडाउनको नीति सफल भएको र नेपालले पनि संक्रमणको विस्तारलाई न्यूनीकरण गर्न सोही नीतिलाई अबलम्बन गरेको बताउनुभयो ।
नेपालस्थित चिनियाँ राजदुतबाट प्राप्त यी सामाग्रीलाई आवश्यकता अनुसार सक्दो छिटो नेपालका सात वटै प्रदेशमा पुर्याईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विदेशबाट आएकालाई सावधानीका साथ क्वारेन्टाईनमा राख्ने र क्वारेन्टाईनमा राखेका व्यक्तिहरुको नमुना परीक्षण गरेर अरुलाई संक्रमित हुन नदिनका लागि यी स्वास्थ्यसामग्रीहरु उपयोगी हुने विश्वास गरिएको छ । कोरोना संक्रमणसंग फ्रन्टलाईनमा लड्न औषधीजन्य औजारहरु तथा डाक्टर नर्स लगायत प्रयोगशालामा काम गर्नेहरुका लागि आवश्यक पर्ने सामाग्रीले उनीहरुको सुरक्षाको प्रत्याभूति गर्दछ । अप्ठ्यारो परेका बेला छिमेकी मित्र राष्ट्रहरु पनि नेपालको साथमा छन् भन्ने आम नेपाली जनतालाई संदेश दिएको छ चिनिया सहयोगले । यो सहयोगबाट उच्च मनोबलका साथ रोगका विरुद्ध लड्न नेपाललाई सहयोग पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्