काठमाडौँ, १९ चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर संक्रमित हुनेको संख्या ८ लाख ७६ हजार पुगेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार यसका कारण संसारभर ४३ हजार ५ सय २० जनाको मृत्यु भइसकेको छ । त्यस्तै, यसको संक्रमणबाट विश्वका २०३ देश तथा टापुहरु प्रभावित भएका छन् । विश्वभर महामारीको रुप लिएको कोरोनाबाट संक्रमित भएकामध्ये १ लाख ८४ हजार ६ सय ५ जना पूर्ण रुपमा निको भइसकेका छन् भने अरु बाँकी उपचारमै रहेका छन् ।
कोरोनका कारण हाल मृत्युदर २ बाट बढेर प्रति १ मिलियन जनसंख्यामा ५।४ प्रतिशत पुगेको छ । मृत्युदर क्रमशः बढ्दै गएको पछिल्लो तथ्यांकले देखाएको छ ।
यसको संक्रमण अमेरिकामा निकै द्रुत गतिमा फैलिरहेको छ । हालसम्म अमेरिकामा सबैभन्दा बढी करिब १ लाख ८८ हजार जना संक्रमित भइसकेका छन् भने ४ हजार ५९ जनाको यसका कारण मृत्यु भएको छ ।
उता इटालीमा करिब १ लाख ५ हजार ७ सय ९२ संक्रमित छन् भने सबैभन्दा बढी १२ हजार ४ सय २८ जना मानिसको कोरोना संक्रमणले निधन भइसकेको छ ।
त्यस्तै, स्पेनमा ९ हजार ५३ जनाको मृत्यु भइसकेको छ भने त्यहाँ करिब १ लाख २ हजार १ सय ३७ जना संक्रमित छन् ।
यद्यपि अहिले अमेरिका र युरोप कोरोना फैलावटको केन्द्र बनेको छ । जर्मनीमा करिब ७२ हजार संक्रमित छन् भने ७७५ जनाको मृत्यु भएको छ ।
फ्रान्समा करिब ५३ हजार संक्रमित हुँदा ३ हजार ५ सय २३ जनाको मृत्यु भएको छ । यता इरानमा करिब ४५ हजारमा संक्रमण देखिएको छ भने करिब २९ सय जनाको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस्