सिरहा, २५ चैत । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरी बल सिरहाले सीमामा पैदल गस्ती पनि थालेको छ । सीमाबाट हुन सक्ने आवतजावतमा रोक लगाउन सशस्त्र प्रहरीले पैदल गस्ती थालेको हो ।
खुल्ला सीमाका कारण सर्वसाधरणको आवतजावत हुन सक्ने विषयलाई मध्यनजर गर्दै सीमामा पैदल गस्ती थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हेडक्वाटर सिरहाका प्रमुख एसपी प्रबिन कंडेलले जानकारी दिए । उनले सीमामा गस्तीका साथै ग्रामीण क्षेत्रका सर्वसाधरणमा जनचेतना समेत फैलाउने कार्य भइरहेको बताए । ‘सीमामा गस्ती पनि भइरहेको छ उता ग्रामिण भेगहरुमा सर्वसाधरणलाई संक्रमणबाट जोगिनका लागि जनचेतना समेत फैलाइरहेका छौँ,’ उनले भने ।
सीमावर्ती भारतीय सहर पटना क्षेत्रमा १ जना कोरोना संक्रमित फेला परेपछि सिरहा जिल्लाको साना-ठूला सबै नाका सिल गरी निगरानी बढाइएको हो । सिरहाको भारतसँग ४७ किलोमीटर सीमा जोडिएको छ । एक जवानले अर्को जवानलाई देख्ने गरी सीमामा सशस्त्र प्रहरीलाई खटाइएको छ । मातहातका धेरै युनिटहरु अहिले सीमामा केन्द्रित छन् । जवानलाई सीमाको कुना कुनामा परिचालन गरिएको छ । जिल्लाका सीमामा ३४ वटा स्थायी प्वाइन्ट राखि २४ घण्टा निगरानी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाका प्रमुख एसपी प्रबिन कंडेलले बताए ।’मातहातका सबै युनिटले आ-आफ्नो क्षेत्र कभर गर्ने गरी गस्ती गरिरहेका छन्’ उनले भने, ‘भारतसँग जोडिएको खोला , खेतदेखि गल्ली सम्मबाट आवतजावत हुने सबै स्थानमा निगरानी पनि गरिरहेका छौँ।’
प्रतिक्रिया दिनुहोस्