धनगढी, ११ वैशाख । कोरोना सङ्क्रमित भई सेती प्रादेशिक अस्पताल धनगढीमा उचाररत थप एक व्यक्ति आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
उपचाररत कैलालीको लम्कीचुहा नगरपालिकाकी ५० वर्षीया महिला कोरोना पोजेटिभ निको भई अस्पतालमाबाट डिस्चार्ज हुनुभएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभयो । आज डिस्चार्ज हुनेमा पाना विक हुनुहुन्छ । वीरगञ्जबाट कैलाली आउनुभएकी उहाँलाई कोरोना भाइरसको पुष्टि भएपछि यही वैशाख १ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
यसअघि सो अस्पतालबाट कञ्चनपुरको बेदकोट नगरपालिकाका ईन्द्र विक, धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय अमृत शाही र कैलाली लम्कीचुहा नगरपालिकाका २१ वर्षीय राज विक कोरोना निको भई डिस्चार्ज हुनुभएको थियो ।
अस्पतालमा कोरोना सङ्क्रमित धनगढी उपमहानगरपालिका—५ की ३४वर्षीया एक महिलाको उपचार भइरहेको र उहाँहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालबाट डिस्जार्च हुनेलाई एक हप्तासम्म घरमा ‘होम क्वारेन्टाइन’ मा अलग्गै कोठामा बस्नुपर्ने सल्लाह चिकित्सकले दिने गरेका छन् ।
सूचना अधिकारी श्रेष्ठले डिस्चार्ज हुनेलाई एक हप्तासम्म आफ्नो परिवारसँग हेलमेल नगरी कुनै कुरा गर्नुपरेमा कम्तिमा पनि दुई मिटरको दूरी कायम राख्न र स्वास्थ्यमा कुनै समस्या देखिए तत्कालै अस्पतालमा जानकारी दिन सल्लाह दिने गरिएको बताउनुभयो । उहाँहरुलाई घर फिर्ता पठाउँदा मास्क, ग्लोब र सेनिटाइजर उपलब्ध गराउने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्