काठमाडौं, २४ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड– १९ को अणुवांशिक (जिन) को अध्ययन गर्ने भएको छ । यस सम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफलसमेत गरेको छ । कोभिड–१९ का विभिन्न जिन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जिन हो भन्ने पत्ता लगाइने छ ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालले नेपालमा आएको जिन कस्तो प्रकारको रहेको भनेर अध्ययन गरिन थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड–१९ का कारण अरू देशमा मानिसको ज्यान गइरहेको अवस्थामा नेपालमा भने सङ्क्रमितको अवस्थामा सामान्य रहेकाले जिनको अनुसन्धान गर्न थालिएको हो । उक्त अध्ययनका लागि नेपालमा रहेका भाइरोजीमा काम गरिरहेका जिनविज्ञ, संस्था र विदेशमा रहेका वैज्ञानिकसँग छलफल गरेको छ ।
अहिलेसम्मको अध्ययनले दोस्रो “यहाँ कोभिड–१९ को लक्षण बिना नै सङ्क्रमण देखिएको छ । कुन चाहिँ जिनले मानिसमा सङ्क्रमण भइरहेका छन्”, उहाँले भन्नुभयो, “त्यसैले भाइरसको कुन चाहिँ जिन नेपालमा बढी रहेको छ । त्यसको अध्ययन गर्न थालेका हाँै ।”
परिषद्ले सङ्क्रमितहरुकै स्वाब र रगतबाट जिनको प्रकार पत्ता लगाउने हो । अध्ययनबाट नेपालमा अमेरिका, चीन, भारत र अन्य देशमा रहेको जिन छ वा छैन भनेर पनि पत्ता लगाइने कोभिड– १९ सम्बन्धित प्रयोगशाला सल्लाहाकार समितिका सदस्यसमेत रहनुभएको खनालले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित ८२ जनाको स्वाब सङ्कलन गरी जिन कुन प्रकारको रहेको भन्ने पत्ता लगाइने छ । उहाँले जिनको अध्ययन गरेर नेपालमा रहेको जिनको तहगत वर्गीकरण गरिनेसमेत बताउनुभयो ।
जिन पत्ता लगाएपछि कोभिड– १९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिने उहाँको भनाइ रहेको छ । “इटाली, वुहान र अमेरिकामा सङ्क्रमण देखिएका मानिस मरिरहेका छन् तर यहाँ त मरेका छैनन,” उहाँले भन्नुभयो, “मानिसको मेडिकल लक्षण चिह्न (क्लिनिकल साइन सिन्ट्रोम) छैन । मान्छे देख्दा सामान्य छ तर सङ्क्रमण देखिएको छ । के रहेछ । यो जिनको कारणले हो ।”
मन्त्रालयले नेपालभित्रका वैज्ञानिकले नै ती जिनको वर्गीकरण गरिने छ । चीन, अमेरिका, भारतलगायत देशले पनि कोभिड–१९ को जिनबारे अनुसन्धान शुरु गरिसकेका छन् । उहाँले सङ्क्रमणले मानिसको रगतमा कुन कुन चीज उत्पन्न भएको छ त्यो पत्ता लगाउने बताउनुभयो । जिनको अध्ययनका लागि मन्त्रालयले काठमाडौँ विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा रहेका जेनेटिक ल्याबमा अनुसन्धान गरिने छ ।
प्रतिक्रिया दिनुहोस्