काठमाडौं, ३ जेठ । कोरोना भाइरस (कोभिड–१९)का आज ९ जना सङ्क्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा नयाँ ९ जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।
नयाँ सङ्क्रमितमा बर्दिया, सिराहा, पर्सा, कपिलवस्तु, सर्लाही र चितवनका छन् । सङ्क्रमितमध्ये छ पुरुष र तीनजना महिला रहेका छन् । उहाँका अनुसार बर्दिया नार्खुका २८ वर्षीया महिला, सिराहा सखुवाका ३० वर्षीय पुरुष, पर्सा वीरगञ्जका २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगरकी १८ वर्षीया महिला र चितवन गढौलीकी २५ वर्षीया महिला, र कपिलवस्तु शिवराज नगरपालिका चनौटाका २५ , ३४ र ४४ वर्षका पुरुष रहेका छन् ।
योसँगै सङ्क्रमितको सङख्या २७६ पुगेको छ । हिजो शुक्रबार १८ जना सङ्क्रमित देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीका निगरानीमा छन् । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् । यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । शुक्रबार एकजना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्