काठमाडौं । रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रबाट काठमाडौं ल्याइएका पहिचान खुल्न नसकेका शवको व्यवस्थापन सुरु गरिएको छ।
आवश्यक नमुना सङ्कलन, अभिलेखीकरण तथा वैज्ञानिक प्रक्रिया पूरा गरेपछि पहिचान हुन नसकेका शवलाई गोकर्णेश्वरस्थित जंगलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार सोमबार र मंगलबार गरी ८५ वटा शव व्यवस्थापन गरिएको छ।
त्रिवि शिक्षण अस्पतालमा ११४ शव ल्याइएको थियो
भोटेकोशी–त्रिशूली बाढीपछि रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित क्षेत्रबाट पोस्टमार्टम तथा पहिचानका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ११४ वटा शव ल्याइएको थियो।
त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायाराका अनुसार तीमध्ये नौ जनाको पहिचान खुलेपछि आफन्तलाई बुझाइसकिएकोछ।
पहिचान हुन नसकेका शवलाई आवश्यक वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापनका लागि जिल्ला प्रशासनलाई बुझाइएको उनले बताए।
उनका अनुसार सोमबार ४८ वटा र मंगलबार २२ वटा शव प्रशासनमार्फत व्यवस्थापनका लागि पठाइएको थियो।
पहिचान नखुलेका शवबाट आवश्यक नमुना तथा डीएनए संकलन गरी अभिलेख राखिएको प्रशासनले जनाएको छ। भविष्यमा आफन्तको डीएनएसँग मिलान भएमा आवश्यक प्रक्रिया पूरा गरी पहिचान गर्न सकिने गरी शवको वैज्ञानिक अभिलेख सुरक्षित राखिएको छ।
घाइतेको स्वास्थ्यमा सुधार
यसैबीच, बाढीमा परी घाइते भएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार गम्भीर अवस्थाका पाँच जना बिरामी आइसियुमा उपचाररत छन्। आवश्यकता देखिएका घाइतेको शल्यक्रियासमेत भइरहेको छ।
बाढीबाट घाइते भएका थप ३२ जना बिरामी पनि अस्पतालमा उपचाररत छन्।
अस्पतालले घाइतेहरूको अवस्था निगरानीमा राख्दै आवश्यकताअनुसार उपचार तथा शल्यक्रिया गरिरहेको जनाएको छ।
वीर अस्पतालबाट १२ जना डिस्चार्ज
रसुवा बाढीपछि उद्धार गरी वीर अस्पताल ल्याइएका १९ जना घाइतेमध्ये १२ जना उपचारपछि डिस्चार्ज भएका छन्।
अस्पतालका अनुसार मंगलबार बिहानसम्म स्वास्थ्य अवस्थामा सुधार आएपछि १२ जनालाई डिस्चार्ज गरिएको हो।
वीर अस्पतालकी सहायक निर्देशक तथा प्रवक्ता डा. अनिता जिसीका अनुसार छिरिङछुमो घले, डोना तामाङ, पाल्दुङ तामाङलगायत १२ जनाको चोटपटकको उपचारपछि अस्पतालबाट बिदा गरिएको हो।
थप उपचार आवश्यक भएका पाँच जना घाइते भने अस्पतालका विभिन्न वार्डमा उपचाररत छन्।
यसरी बाढीबाट ज्यान गुमाएकाको पहिचान तथा शव व्यवस्थापनको प्रक्रिया अघि बढिरहेका बेला घाइतेको उपचारसमेत जारी छ। डीएनए परीक्षण तथा अभिलेखका आधारमा पहिचान खुल्न बाँकी शवको सनाखत गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्