काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्नेछ। देशका हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। पहाडी भूभागमा बादल लाग्ने तथा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। केही हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावनासमेत रहेको छ।
काठमाडौंमा अपराह्नपछि वर्षा
काठमाडौंमा बिहानको मौसम तुलनात्मक रूपमा सफा रहे पनि अपराह्नपछि मध्यम वर्षा हुनसक्ने मौसमविद् लामिछानेले बताएका छन्।
“काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ। बिहान मौसम केही सफा नै रहनेछ,” उनले भने, “अपराह्नपछि काठमाडौंमा मध्यमसम्मको वर्षाको सम्भावना छ।”
बाढी र पहिरोको जोखिम कायमै
हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
विशेषगरी पछिल्लो समय बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रहरूमा थप वर्षा हुँदा उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावित हुनसक्ने भएकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनुपर्ने देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्