दैलेख, ४ जेठ । कर्णाली प्रदेशमा कोरोना जीतेर घर फर्किनेको संख्या चार सय ९४ पुगेको छ । विभिन्न आइसोलेसनमा रहेका एक सय ५२ जना बुधबार एकैपटक कोरोना जीतेर घर फर्किएपछि कर्णालीमा कोरोना निको हुनेको संख्या चार सय ९४ पुगेको हो ।
दैलेखको महाबु आइसोलेसन सेन्टरबाट एक सय ६, नारायण आइसोलेसन सेन्टर र दैलेख अस्पतालबाट ४३ र प्रदेश अस्पताल सुर्खेतबाट तीन जना गरी बुधबार मात्रै कोरोना जीतेर एकसय ५२ जना घर फर्किएका हुन् ।
योसँगै कर्णालीमा कोरोना जीत्नेको संख्या चार सय ९४ पुगेको छ। अझै ६ सय १० जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् । हालसम्म कर्णालीका कुल १ हजार १ सय ४ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।
यस्तै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार मंगलबार मात्रै एक सय ९१ जना एकैसाथ कोरोना जीतेर घर फर्किएका थिए । दुल्लु अस्पतालबाट २७, दैलेख अस्पतालबाट एकसय २०, सल्यान अस्पतालबाट ४१ र प्रदेश अस्पताल सुर्खेतबाट तीन जना गरी मंगलबार एकैदिन एकसय ९१ जनाले कोरोना जीतेका हुन् ।
प्रतिक्रिया दिनुहोस्