काठमाडौं, १७ मंसिर । आज किरात समुदायले उधौली पर्व मनाउदै छन् । यो पर्व खेतीपाती भित्र्याएर सकियो अब अन्नको सह बसोस, खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा छ । पूजापछि साकेला नाचिन्छ । वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किरात समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ । त्यस्तै पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी धान्यपूर्णिमा मनाउँछन् ।
उधौली पर्वको उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वले नेपाललाई साझा फूलबारीका रुपमा श्रृङ्गार गर्दै आएको बताउनुभयो । उहाले उधौलीजस्ता चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्