काठमाडौं, ८ असार । नेपाल पर्यटन बोर्डले कोरोनापछिको पर्यटकीय गतिविधि सञ्चालनका लागि तयार पारेको प्रोटोकलसम्बन्धी छलफल गर्न सोमबार ‘जुम मिटिङ’ आयोजना गरेको थियो।
जुमको माध्यमबाट दिउँसो १ बजे आयोजना गरिएको उक्त मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो धारणा राखिरहेका बेला जुमको इन्टरफेसमा एक्कासि पोर्न भिडिओ तथा पोर्न भिडिओ आउने साइट सेयर भयो। जब सार्वजनिक भर्चुअल कार्यक्रममा मन्त्री बोल्न सुरु गरे, एक्कसी पोर्न भिडियो बज्न थाल्यो ।
अनधिकृत रुपमा भर्चुअल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट यस्तो गतिविधि भएको हो । भिडियो बजेलगत्तै एडमिनले भिडियो काटेका थिए । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वका धेरैजसो देशहरुमा भेटेर बैठक गर्नुभन्दा जुम एपको प्रयोग गरी भर्चुअल माध्यमबाट बैठक हुने गरेको छ । यस्ता बैठकमा पछिल्ला समयमा ह्याकरहरुले अनधकृतिक रुपमा ‘एक्सेस’ गरेर अश्लील भिडियो बजाइदिने पनि गरेका छन् ।
नेपालमा पनि यसको प्रयोग बढ्दै गर्दा यस्ता समस्या बढ्दै गएको छ । सुरक्षाका विषयलाई लिएर यो एपमाथि प्रश्न उठ्ने गरेको छ । २ सयजना बढी सहभागी उक्त मिटिङमा कुन अकाउन्टबाट कसरी भिडिओ सेयर भयो भन्ने विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बोर्डलाई निर्देशन दिइसकेको छ। बोर्डका अध्यक्ष तथा मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले बोर्डलाई छानबिन गर्न निर्देशन दिइएको जानकारी बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्