काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गौतम बुद्धको जन्मस्थानबारे भारतीय विदेश मन्त्री एस जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको बताउनुभयो ।उहाले बुद्ध महान भारतीय हुन् भन्ने जयशंकरको भनाइ सार्वजनिक भएपछि शर्माले यसको विरोध गर्नुभएको हो ।
‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ,’ प्रवक्ता शर्माले समाजिक सञ्जाल ट्विटरमा लेख्नु भएको छ , ‘आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पु¥याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन ।’ विदेश सचिव रहेका जयशंकरले शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा गौतम बुद्धबारे विवादित अभिव्यक्ति दिएका थिए ।
यस्तो छ एस जयशंकरको भनाई
भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेका छन् । उद्योग निकाय सिआइआइले आयोजना गरेको भर्चुयल इभेन्ट ‘इण्डिया एट सेभेन्टिफाइव समिट’लाई सम्बोधन गर्दै गौतम बुद्ध भारतीय भएको दावी गरेका हुन् ।
उनले सम्बोधनका क्रममा भनेका छन्,‘को हुन् दुई महान इण्डियन, तपाईलाई सधै याद आउछ । म भन्छु एक गौतम बुद्ध अर्को महात्मा गान्धी । यी महान् इण्डियनलाई तपाई र म मात्र होइन सारा विश्वले सम्झन्छ ।’ उनले गौतम बुद्धलाई भारतीय भनेर सारा विश्वसामु सफेद झुट बोलेका हुन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गौतम बुद्धका विषयमा यस्तै प्रचार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्