काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मंसिरमा १५औँ महाधिवेशन गर्ने गरी छुट्टै कार्यतालिका सार्वजनिक गरेको छ।
कांग्रेस संस्थापन पक्षले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गरी असोज १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा संस्थापनइतर पक्षले मंसिर २१, २२ र २३ गते महाधिवेशन गर्ने निर्णय गरेको हो।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा बुधबार बसेको केन्द्रीय महाधिवेशन तयारी समितिको दोस्रो बैठकले वडादेखि केन्द्रसम्मका अधिवेशनको मिति तय गरेको हो।
सार्वजनिक कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन हुनेछ।
महाधिवेशन तयारीका लागि भदौ १८ गतेभित्र केन्द्रीय निर्वाचन, क्रियाशील सदस्य छानबिन, विधान संशोधन र अनुशासनसम्बन्धी चार विषयगत समिति गठन गर्ने निर्णय बैठकले गरेको छ।
यस्तै, भदौ २० गतेभित्र ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने र भदौ २५ गतेसम्म जिल्ला अधिवेशन तयारी समिति गठन गर्ने योजना इतर पक्षले बनाएको छ।
क्रियाशील सदस्यताको विवाद अन्त्य गर्न क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समितिको निर्णयलाई अन्तिम मान्ने निर्णयसमेत बैठकले गरेको छ।
बैठकले १४औँ महाधिवेशनमा सहभागी भएका, तोकिएको समयभित्र सदस्यता नवीकरण गरेका तथा असोज ९ गतेभित्र नयाँ सदस्यता प्राप्त गरेका सदस्यलाई १५औँ महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको छ।
यसैगरी, आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनका लागि उपयुक्त उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया सुरु गर्ने निर्णय बैठकले गरेको छ।
बैठकले रसुवाको भोटेकोसीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको उद्धार, राहत, क्षतिपूर्ति तथा पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएको छ। साथै, निजी क्षेत्र, अन्तर्राष्ट्रिय समुदाय तथा कांग्रेसका कार्यकर्तालाई मानवीय सहयोगमा जुट्न अपिल गरेको छ।
कांग्रेसले भदौ २४ गते पर्ने ११३औँ बीपी जयन्ती भव्य रूपमा मनाउने निर्णयसमेत गरेको छ। बैठकका निर्णयबारे सचिवालय समिति समन्वय संयोजक दीपकप्रसाद कुईकेलले जानकारी दिएका हुन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्