गोरखा, मंसिर २४ । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तेस्रो पटक प्रतिनिधिसभामा गोरखाबाट निर्वाचित हुनुभएको छ ।
नेपाली काँग्रेससँगको सहकार्यमा गोरखा–२ बाट साझा उम्मेदवार बन्नुभएका डा भट्टराईले वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरी ह्याट्रिक गर्नुभयो ।
यही मंसिर १० गते भएको निर्वाचनको मतपरिणाम गए राति आएको हो । गोरखा–२ मा ६० हजार ११७ मत खसेकामा डा भट्टराईले ३१ हजार ८०७ र उहाँका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गर्नुभएको छ । डा भट्टराई र श्रेष्ठबीचको मतान्तर छ हजार ८७४ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा दुई हजार ६३८ मत बदर भएको थियो । डा भट्टराई विसं २०६४ र २०७० को संविधानसभा निर्वाचनमा क्रमशः गोरखा २ र १ बाट निर्वाचित हुनुभएको थियो । यस पटकको निर्वाचन प्रक्रिया शुरु भएदेखि गोरखा२ चर्चामा थियो र छ । माओवादीका पूर्वउपाध्यक्ष डा भट्टराई र श्रेष्ठ एकै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएपछि कडा टक्कर हुने अनुमान गरिए पनि भट्टराई फराकिलो मतान्तरले विजयी हुनुभएको छ । डा भट्टराईलाई निर्वाचित भएको प्रमाणपत्र दिइसकिएको छ ।
प्रतिक्रिया दिनुहोस्