काठमाडौं, २७ मंसिर । प्रत्येक स्थानिय तहले अब गाउँ शहरमा उधमशीलता विकास गर्नको लागि एक करोड रुपैया पाउने भएका छन् । स्थानीय स्तरमा नै व्यवसाय सञ्चालन, आर्थिक गतिविधीलाई बढाउन साथै बेरोजार युवालाई स्वरोजगारीको अवसर सिर्जना गर्न युवा स्वरोजगार कोषले हरेक स्थानिय तहमा एक करोड रुपैयाँ उपलब्ध गराउने तयारी गरेको हो । कोष सञ्चालक समितिले स्थानिय तहमा एक करोड रुपैया उपलब्ध गराउने लगानी निर्देशिका तयार गरेको छ । मन्त्रीपरिषद् बैठकले भने उक्त निर्देशिका हालसम्म स्वीकृत गरिसकेको छैन ।
स्वरोजगार कोषले यस अघि गाउँका विभिन्न सहकारीसगँ सहकार्य गरि बेरोजगार युवायुवतीलाई बिनाधितो दुई लाख रुपैयाँ सम्म लगानी गर्दै आएको थियो । सो लगानी उधम , व्यवसाय गर्न अपुग भएको गुनासो आएपछि कोषले स्थानिय तहमा एक करोड लगानी गर्ने प्रस्ताव अगाडी ल्याएको हो । कोषले लगानीको कार्यक्रम आर्थिक वर्ष ०६८ ६९ मै सुरुवात गरेपनि राजनितीक दल र तिनका भातृ संगठनले कोषको रकम लिएर दुरुपयोग गरेको पाइएपछि कोषको आलोचना भएको थियो ।
कोषले उपलब्ध गराउने एक करोड रुपैया कहा र कसरी प्रयोग हुने भन्ने विषय सम्बन्धित सम्पुर्ण अधिकार गाउपालिका र नगरपालिकामा निहित रहने कोष सञ्चालक समितीले जनाएको छ । हाल कोषले १८ देखि ५० वर्ष उमेर समूहका व्यक्तिलाई ४२ महिनाभित्र ऋण चुक्ता गर्ने गरी सहकारीमार्फत युवायुवतीलाई उधम गर्न बिना धितो प्रतिव्यक्ति दुई लाख रुपैयासम्म ऋण उपलब्ध गराउदै आएको छ । सहकारीले ऋणमा १० प्रतिशत ब्याज लगाउने र तोकिएको समयभित्र ऋण चुक्ता गरेको खण्डमा कोषले ब्याजमा ६० प्रतिशत छुट दिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्