काठमाडौं , २० पुस । राति बादल लागेपछि काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै बढेको छ । हिजो बिहान २ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाडौंको न्यूनतम तापक्रम आज बढेर ९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । यसअघि गएको कात्तिक २३ गते काठमाण्डौको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता लगातार घट्दै न्यूनतम तापक्रम एक दशमलव दुई डिग्री सेल्सियससम्म झरेको थियो । तर बादल लागेपछि तापक्रम ह्वात्तै बढेको हो ।
पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भएर रातको समयमा बादल लागेकाले न्यूनतम तापक्रम बढेको मौसमविद् श्रेष्ठले बताउनुभयो । रातको समयमा बादल लाग्दा जमिनको तातो वाफ वायुमण्डलमा जान नपाउने हुँदा जमिन तातै रहने मौसमविद्ले बताउँदै आएका छन् । तर, न्यूनतम तापक्रम अहिले बढे पनि पश्चिमी वायुको प्रभाव हटेपछि भने तापक्रम घट्ने र चिसो झनै बढ्ने मौसमविद्ले बताएका छन् ।अहिलेको अवस्थालाई हेर्दा पश्चिमी वायुको प्रभाव पर्सि बुधबारसम्म नै रहने देखिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार पश्चिमी वायुको प्रभाव हटेपछि तराईका जिल्लामा शीतलहरको सम्भावना रहेको छ ।
आगामी तीन दिन यस्तो छ नेपालको मौसम पूर्वानुमान
पुस २० गते (सोमबार)
दिउँसो : देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू-भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
राति: देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
पुस २१ गते (मंगलबार)
दिउँसो: देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बागमती र प्रदेश न. १ को भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम , कर्णाली, गण्डकी , बागमती प्रदेश तथा प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
पुस २२ गते (बुधबार)
दिउँसो : देशको सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति : देशको पहाडी भू-भागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस्