यमन, २ पुस । यमनी हुठी विद्रोहीले अमेरिकाद्वारा यमनमा जारी द्वन्द्वमा इरानको सहयोग रहेको भनी आएको भनाइलाई खण्डन गर्दै वासिङ्टनले ‘झुटको खेती’ गरेको बताएको छ ।
हुठी समूहका प्रवक्ता मुहमद अब्दुल सलामले शुक्रबार राति ट्वीटरमार्फत् अमेरिकी आरोपको खण्डन गर्दै वासिङ्टनले जेरुसेलमलाई मान्यता दिने निर्णयप्रति मध्यपूर्वमा आएको प्रतिक्रियाबाट बच्न ‘झुटको खेती’ गरेको बताउनुभयो ।
गत विहीबार अमेरिकाले तेहरानले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको भन्ने बिषय अखण्डनीय भएको र यमनी हुठी विद्रोही नियन्त्रित भूभागबाट साउदी अरबतर्फ क्षेप्यास्त्र आक्रमण गर्ने गरेको खुलासा भएको जनाएको थियो ।
अमेरिकी अधिकारीले जनाए अनुसार हतियारमा देखिने सङ्केतले क्षेप्यास्त्र इरानमा बनेको पुष्टि हुने जनाएका थिए ।
इरानले आफ्नो मुलुकले यमनी विद्रोहीलाई हतियार सहयोग गरेको भनाइलाई खण्डन गर्दै आएको छ ।
यमनमा इरानको समर्थन रहेका हुठी र अमेरिकी समर्थन प्राप्त साउदी नेतृत्वको सरकारी सैन्य गठबन्धनबीच लामो समयदेखि द्वन्द्व जारी रहेको बताउने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्