काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले आफूलाई गरेको विश्वासलाई कायमै राख्न चुनावको घोषणा गरेको बताउनु भएको छ । सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा आफ्ना उपलब्धिबारे जानकारी दिँदै उहाँले आफूले लगातार विवाद समाधानका लागि प्रयास गरिरहे पनि सफल हुन नसकेपछि पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभयो ।
स्वस्थ्य ढङ्गले पार्टी र सरकार चलाउन प्रयास गरे पनि आफ्नै सहकर्मीले चल्नै नदिएपछि बाध्य भएर प्रतिनिधि सभा भङ्ग गरेको उहाँको दाबी छ । जटिल परिस्थितिमा फेरि नागरिकमा जानुको विकल्प नभएकाले चुनावको घोषणाको गरेको उहाँको भनाई छ ।
नागरिकले आफूले गरेको विश्वासलाई कायमै राख्न चुनावको घोषणा गरेको भन्दै ओलीले भन्नुभयो, ‘तपाईँहरूले जुन जिम्मेवारी दिनुभएको थियो, तपाईँहरू माझ मैले जुन कबुल गरेको थिए, त्यो पूरा गर्न पाइएन । त्यही कारण ताजा जनादेशमा जानुपर्छ भन्ने निर्णयमा पुगे र नयाँ कदम चालेँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अनि प्रतिनिधि सभाको विघटन गरेँ ।’ उहाँले नेकपाको प्रचण्ड –नेपाल समूहले आफूलाई लाञ्छना लगाउने काममात्रै गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्