काठमाडौं, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजीले श्रेष्ठले बताउनुभयो । तर, दुवै बैठकको मिति भने तोकिएको छैन । साथै, बैठकले पार्टीको आधिकारिकता सम्बन्धी विवादलाई छिटो टुङ्ग्याउन निर्वाचन आयोगलाई अनुरोध गरेको छ । प्रवक्ता श्रेष्ठले भन्नुभयो ‘निर्वाचन आयोगलाई पार्टीको आधिकारिकतासम्बन्धी जो हाम्रो दाबी छ त्यसका बारेमा छिटोभन्दा छिटो निर्णय गर्न अनुरोध गरेका छौं,’ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएको विषयमा समेत छलफल भएको र त्यसको कुनै अर्थ र औचित्य नरहेको निष्कर्ष निकालिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्