काठमाडौं,१८ फागुन । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली देश दौडाहा निस्किनु भएको छ । विभिन्न विकासे पूर्वाधारको शिलान्यास, उद्घाटन तथा पार्टीका भेलामा प्रधानमन्त्री ओलीले व्यस्त हुनुभएको छ । आइतबार आफ्नो निर्वाचन क्षेत्र झापा–५ पुगेर विभिन्न पूर्वाधारको शिलान्यास तथा उद्घाटन गरेका प्रधानमन्त्री ओली सोमबार पोखरा पुग्नुभएको थियो । पोखरामा प्रधानमन्त्री ओलीले पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन समेत गर्नुभएको थियो । सो क्रममा उनले पोखरामा पनि विभन्न विकास निर्माणको कामको निरीक्षण तथा शिलान्यास गर्नुभएको थियो । दुई दिनदेखि काठमाडौँ उपत्यका बाहिरका कार्यक्रममा व्यस्त हुनुभएका प्रधानमन्त्री ओली आज पनि झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुनुहुन्छ । उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा ३० करोड लागतमा १३२ घर निर्माण हुने सो बस्ती बनेपछि नगरपालिकाका १०६ परिवार सन्थाल र २६ परिवार उराव जातिको जग्गा नभएक र २७ परिवार सन्थाल जाति प्रत्यक्ष लाभान्वित हुनेछन् । अहिले मन्त्रालयले रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कुल १३२ वटा घर निर्माण गर्न लागेको हो । पुरै वस्ती निर्माणका लागि ३० करोड रकम खर्च हुने जनाइएको छ ।
समग्र बस्तीका लागि भने आवश्यक पर्ने अन्य सामाजिक तथा आर्थिक पूर्वाधारअन्तर्गत सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतको निर्माण गर्नेगरी गुरुयोजनाको डिजाइन गरिएको हो । शहरी विकासमन्त्री प्रभु साहले पद सम्हालेको दुई महिनामै यो दोस्रो ठूलो परियोजनाको शिलान्यास हुन लागेको हो । यसअघि गत माघ १७ गते प्रधानमन्त्री ओलीले चितवनको भरतपुरमा महानगर सिटी हलको शिलान्यास गर्नुभएको थियो । उर्लाबारीको उक्त कार्यक्रमसकिएपछि प्रधानमन्त्री ओली आजै साँझ विराटनगर विमानस्थल हुँदै काठमाडौँ फर्कने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्