इलाम, १० पुस । पहाडी क्षेत्रमै पहिलोपल्ट बोरिङ प्रणलीबाट पानी निकालिएको छ । एक हजार ६०० मिटर उचाइमा रहेको इलामको सूर्योदय नगरपालिकामा पहिलो पटक बोरिङ प्रणालीमार्फत पानी निकालिएको हो ।
अलैँची विकास केन्द्रले अलैँची नर्सरीमा सिँचाइको लागि बोरिङ प्रविधिबाट पानी निकालेको हो । नेपाल तराई निर्माण तथा डिप ट्वेल प्रालि दोलखाको कम्पनीबाट डिटिएच मेसिन ल्याएर पानी निकालिएको हो ।
अलैँची विकास अधिकृत पदमप्रसाद अधिकारीले पहाडमा बोरिङ प्रविधिबाट पानी निकालिएको यो नै पहिलो पटक हुनसक्ने र यहाँ पानी निकालिए पछि अग्लो स्थानमा पनि डिप बोरिङ गरेर निकाल्न सकिने ज्ञान र जानकारी बाहिर आएको बताउनुभयो ।
ईलामको सो क्षेत्रमा पानीको अभावका कारण अलैँची नर्सरीमा समस्या हुँदै आएको थियो । अब सो प्रविधि भित्रिएसँगै जिल्लाका सुख्खा ठाउँमा खानेपानी तथा सिँचाइको लागि पानी निकाल्न सहज हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्