तेह्रथुम, ११ पुस। आफ्नै लगानीमा तान राखेर ढाका बुन्न नसक्ने विपन्न समुदायका महिलालाई लक्षित गरेर तेह्थुमको म्याङलुङमा साझा सुविधा केन्द्र स्थापना भएको छ । दश थान सेट सहित साझा सुविधा केन्द्र स्थापना भएको हो ।
केन्द्रको स्थापनाले ढाका बुनेर जीविकोपार्जन गर्न सक्ने तर लगानी अभावका कारण आफैँ तान राखेर ढाका बुन्न नसक्ने विपन्न समुदायका महिलालाई सहज भएको छ ।
गरिबी निवारण कोषअन्तर्गत जापान सामाजिक विकास कोषको आर्थिक सहयोग तथा देउराली सोसाइटी तेह्रथुमको सहजीकरणमा केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्र स्थापनाका लागि रु आठ लाख छ हजार १०० खर्च भएको म्याङलुङ ढाका उत्पादक समूहका अध्यक्ष सचित्रा लिम्बूले बताउनुभयो ।
हालै यहाँका दशजना महिलालाई उद्यमी बन्न प्रेरित गर्दै ढाका बुनाई तालीमसमेत प्रदान गरिएको छ । उद्यमीका बीचमा ढाका कपडा उत्पादन, बजारीकरण, सीप र प्रविधि विकास तथा पुस्तान्तरणका विषयका लागिसमेत छलफल हुन थालेको छ ।
जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका १६५ जनालाई ढाका बुनाईसम्बन्धी तालीम प्रदान गरी उद्यमी बनाइएको कार्यक्रम संयोजक प्रेमराज लिम्बूले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्