काठमाडौं,१४ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । प्रदेश तथा प्रतिनिधिसभा चुनावको परिणाम बाहिरिएपछि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलोपटक कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकको मुख्य एजेण्डा प्रदेशसभातर्फको समानुपातिक सांसद् छनोट रहेको नेताहरूले बताएका छन् ।
प्रदेशसभाको समानुपातिकमा कांग्रेसले ७२ सिट पाउने भए पनि यसको टुंगो लगाएको छैन । निर्वाचन आयोगले यी सिटहरुका लागि नाम सिफारिस गरेर पठाउन शुक्रबार सम्मको समयसीमा दिएपछि कांग्रेस दबाबमा परेको छ ।
बैठकमा प्रदेशको समानुपातिक सांसद चयनसँगै राष्ट्रियसभा गठनसम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश र समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल हुने कांगेसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्