काठमाडौं, २० पुस। मंसिर १० र २१ गते सम्पन्न निर्वाचन बाट ठूलो दल बनेको नेकपा एमालेले देउवा नेतृत्व सरकारले राष्ट्रियसभा निर्वाचनको मिति तोक्न ढिलाई गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आपत्ति जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहान बोलाएको सर्वदलीय बैठकमा एमालेले नयाँ सरकार गठनमा बिलम्ब सिर्जना गर्न सरकारले जानी–जानी राष्ट्रियसभा निर्वाचनको मिति नतोकेको आरोप लगाएको छ ।
राष्ट्रियसभा निर्वाचन माघ २५ मा गर्ने भन्ने सत्य हो भने त्यो ठीक नहुने एमाले नेताहरुले बताएका छन् । राष्ट्रियसभा निर्वाचन १०÷१५ दिनभित्र गर्न सकिने नेताहरुको दावी छ ।
एमाले उपमहासचिव विष्णु पौडेलले भने, ‘सरकारले राष्ट्रियसभा निर्वाचनको मिति नतोकेकामा हामीले आपत्ति जनायौं । नयाँ सरकार गठनको प्रक्रिया बिलम्ब हुने गरी सरकारका गतिबिधि भइरहेकोमा हामीले गम्भीर आपत्ति व्यक्त गरेका छौं ।’
बैठकमा एमाले नेताहरुले कामचलाउ सरकारले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनेभन्दा पनि नियुक्ति सरुवा बढुवा र राज्यकोषबाट करोडौं रुपैया सत्ताधारीलाई बाँड्ने काम गरेको आरोप लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्