काठमाडौं, २४ पुस । दुई साताअघि कालिकोटमा भएको म्यादी प्रहरीको आन्दोलनमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको घुसपैठ भएको निष्कर्ष निकालिएको छ । विप्लव पार्टीको घुसपैठ भएपछि दोहोरो झडप भएका कारण गोली चलेको ठहर छानबिन समितिले ठहर गरेको छ ।
म्यादी प्रहरीको आन्दोलनमा विप्लव पार्टीको सहयोगकै कारण म्यादीले प्रहरीमाथि आक्रमण गरेको र प्रहरीलेस्थिति नियन्त्रणमा लिने क्रममा गोली चलाउँदा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको समितिको ठहर छ ।
कालिकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुवासचन्द्र बोहरालाई सामान्य चेतावनी र प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेलाई पनि सामान्य विभागीय कारबाही सिफारिस गरिएको छ।
तलबभत्ताको विषयलाई लिएर आन्दोलनमा उत्रेका म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा म्यादी प्रहरी ऐडीको मृत्यु भएको थियो । आन्दोलनका क्रममा म्यादी प्रहरीलाई स्थानीय विप्लवका कार्यकर्ताले हौस्याएको प्रतिवेदनमा उल्लेख गरिएको र समितिले आइतबार गृहसचिव मोहनकृष्ण सापकोटालाई बुझाएको प्रतिवेदनमा प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली प्रहार गर्नुपरेको उल्लेख गरिएको छ।
‘कालिकोट घटनाको प्रतिवेदन आइतबार सचिवलाई बुझाइएकोछ, त्यसभित्र के के छ अहिले नै भन्न मिल्ने अवस्था छैन’ गृह मन्त्रालयका प्रवक्ता नारायणशर्मा दुवाडीले भने।
प्रतिक्रिया दिनुहोस्