चितवन ,५ माघ, । नारायणगढ मुग्लिन सडक हुँदै गाडीमा यात्रा गर्नेहरुले माघ १३ गतेदेखि देखि बन्दको झन्झट पनि बेहोर्नु पर्ने छ। निर्माणाधीन नारायणगढ मुग्लिन सडक खण्ड माघ १३ गतेदेखि दिउँसोमा पनि बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको ठेकेदारका प्रतिनिधि, आयोजनाका अधिकारीसहितको बैठकले माघ १३ देखि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गर्ने निर्णय गरेको हो ।
अहिले सो सडकखण्ड राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ । रातिमा सडक बन्द गर्दा धेरै काम गर्न नसकिएकाले दिउँसोमा बन्द गर्न लागिएको ठेकेदार कम्पनीले बताएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दिउँसोको समयमा ६ घण्टा सडक बन्द गरी १ महिना काम गर्न दिने बताए । ‘१ महिनाभित्र दिउँसोमा बन्द गरी काम गर्दा हुने प्रगतिको स्पष्ट कार्ययोजना, ट्राफिक म्यानेजमेन्ट र प्रतिदिनको प्रगति विवरण ३ दिन भित्र पेश गर्न भनेका छौं’, प्रमुख जिल्ला अधिकारी भट्टले भने,’अब १ महिना ट्रयालका रुपमा हेर्दछौं ।’
ठेकेदारसँग आयोजनाको सम्झौता अवधि सकिन जम्मा १ महिना मात्रै बाँकी हुँदा काम भने २९ प्रतिशत बाँकी नै छ । हालसम्म ९२ प्रतिशत काम सकिनुपर्नेमा जम्मा ७१.१ प्रतिशत मात्रैं काम सकिएको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्