ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आलेख सेवा : जुत्ता सिलाउने रामहरुको यथार्थः भन्छन्, ‘सीपको सम्मान भएन


एबीसी / संवाददाता
३ कार्तिक २०७९, बिहिबार   १ : ५५   बजे

कमलामाई/सिन्धुली, ३ कात्तिक । सिन्धुलीको सदरमुकाम सिन्धुलमाढीको बसपार्क अगाडि मधुटार जाने बाटो छ । बाटो छेउमा लामै लाइन देखिन्छ, जुत्ता–चप्पल बनाउनेहरूको । लाइनभित्रै भेटिनुहुन्छ, महोत्तरीको गौशाला नगरपालिका–११ कालिपुलका नथुनी राम ९४३ वर्ष० ।

जुत्ता–चप्पलको तलुवा फेर्नु, फाटेको टल्काउनु, च्यातिएको सिउनु र चुडिएको जोड्नु उनको पेसा हो । यो पेसाले उनलाई दाम दिएको छ । दामले जसोतसो जीविका चल्दैछ । दैनिक जीविका चलाउन रहर जलाउनुको विकल्प छैन । यसरी जुत्ता सिएरै दुई दशक बितिसकेको उनी बताउछन् ।

हजुरबाले गर्दै आएको कामलाई बुवाले निरन्तरता दिनुभयो । रोगले थलिएर उमेरमै बुवाको मृत्यु भएपछि जेठो सन्तानका रुपमा जन्मिएका नथुनीलाई नौ जनाको परिवार पाल्ने जिम्मेवारी थपियो । आर्थिक अभावका कारण पढ््लेख गर्न नपाएका उनी सानै उमेरमा बुवाले गर्दै आएको पेसा अँगाल्न बाध्य भए ।

यो पेसा सुरु गर्दा उनी १६ वर्षे ठिटो थिए । हप्ताको एकपटक सरकारी कर्मचारीले लगाउने छालाका जुत्ता टल्काउन सिन्धुलीमाढी आउथे। महोत्तरीबाट २० रुपैयाँ गाडी भाडा तिरेर माढीबजार आएको उनलाई हिजोजस्तो लाग्छ । त्यो बेलाको सिन्धुली सम्झिँदा अहिले सपनाजस्तो लाग्ने उनी बताउछन् ।

उनका अनुसार पछिल्लो समय जिल्लामा आमूल परिवर्तन आएको छ । त्यतिबेला यहाँ काठका घर पातला थिए । अहिलेको फोस्रेटार, धुराबजार, मधुटार, गैरीबजार, ढुङ्ग्रेबासमा घना जङ्गल थियो । बसपार्कमा एउटा मात्र काउन्टर थियो । दैनिक दुई–चारवटा मात्र बस चल्थे ।

समय सधैँ कहाँ एकैनास हुने रहेछ र आफ्नो केश फुल्न थाले । माढीबजारको रङ बदलियोे । काठका घर विस्थापित भए । सिमेन्टका ठूला–ठूला घरहरु बन्दै गए । जङ्गल गाउँ हुँदै सहरमा परिर्वतन भयो । सवारीसाधनको चाप बढ्यो । काउन्टर थपिँदै गए । पार्कले थेग्नै छोडिसक्यो । चहलपहल बढ्दै गयो । गाँस, बास, कपासलगायतका उपभोग्य सामग्रीको मूल्य आकाशियो । समय पूरै परिर्वतन भयो । उनी भन्छन्, “तर हाम्रा दुःख ज्यूँका त्यूँ छन् । मेहेनत र सङ्र्घषले विश्राम लिएको छैन । थकानले विश्राम पाउँदैन ।”

आधुनिक प्रविधिको जमानामा पनि उनको काम गर्ने शैली पुरानै छ । जीवन भोगाइमा पृथकता आउन सकेको छैन । उनले आफ्नो जीवनशैली परिर्वतन गर्न नचाहेको पनि होइन । आर्थिक अवस्था कमजोर भएपछि रहर एकातिर आफ्नो बाध्यता अर्कोतर्फ हुने बताए । “मेरो छोरो र भाइहरु सबैले यस्तै काम गर्छन्, जागिर गर्न पढेका छैनन्”, बुवाआमाले मलाई पढाउन सक्नुभएन, मैले छोराछोरीलाई पढाउन सकिनँ”, उनले भने ।

जुत्ता, चप्पल सिलाएर कमाएको पैसाले अत्यावश्यक गाँस, बास र कपास पु¥याउनै धौधौ हुने उनको भनाइ छ । “कोठाभाडा, बिजुली बत्ती र पानीको लागि महिनैपिच्छे पाँच हजार छुट्याउनु पर्छ । पाँच जनाको परिवारलाई चामल, तरकारी, नुनतेल, लुगाफाटो, चाडबाडमा पाहुनाको सत्कारमा खर्च ठूलो छ । कमाई महिनामा १०–१५ हजार पनि हुँदैन”, उनले सुनाए ।

नथुनीको भाइ राजकुमार राम वर्ष ३९ को कथा दाइको भन्दा कम छैन । सानो उमेरमा आर्थिक अभावका कारण ठूलो दबाबमा परे । दाइको कमाइले बिरामी आमाको उपचार गर्न खर्च पुगेन । मजदुरी गर्न भारत गए । लेखपढ नभएको उनलाई चाहेको जस्तो काम मिलेन । बल्लतल्ल मिलेको काम पढलेख नभएकै कारण गर्न सकेनन् । भारतमा टिक्न गाह्रो भयो । जुत्ता, चप्पल बनाउन, सिलाउन, तलुवा लगाउनलगायतको जो अहिले गरिरहनु भएको सीप सिकेर गर्ने निर्णयमा पुग्नुभयो । सीप सिक्ने तालिम लिन पैसा थिएन । अरुले काम गरिरहेको ठाउँमा गएर हेरेकै भरमा सबै सीप जानेको उनले बताए ।

राजकुमारसँग नयाँ जुत्ता, चप्पल बनाउने कला पनि छ । मागअनुसार जस्तो भन्यो त्यस्तै बनाइदिन सक्ने सीप आफूसँग भएको उनले सुनाए । यसका लागि स्रोत र साधन जुटाउन नसकेको उनको भनाइ छ । “कोठा लिएर पसल खोल्नसमेत नसकेर धुँलोधुवा, उखरमाउलो गर्मी, झरी, हावाहुरी सबै सहेर दैनिकी सडकमै बताउनुपरेको छ”, उनले भने, “पसल खोल्न पैसा छैन । बिनाधितो बैंकले ऋण दिँदैन । धितो राख्न जमिन छैन, सीप भएर के गर्नु ” उनले दुःखेसो पोखे ।

जुत्ता चप्पल सिलाउँदा–सिलाउँदै रोगले थला परेका बुवाको उपचार गर्दा ऋण लाग्यो, बाँच्नु भएन । आमाको पनि दुःखद् निधन भयो । एक जना दाइले जुत्ता सिलाएको कमाइले पेटभरि खानै पुग्थेन । पढ्न जान कपी नै हुँदैन थियो, उनले विगतलाई सम्झिँदै भन्नुभयो, “नपढेता पनि सीप सिकेको छु । यही सीपले चार जनाको परिवार पालेको छु । कहिलेकाहीँ कमाइ नै हँुदैन । व्यवहार टार्न मुस्किल पर्छ । बाँकी दिनमा एक सयदेखि एक हजारसम्म कमाइ हुन्छ ।”

यही पैसाले छोराछोरीलाई सरकारी स्कुलमा पढाएको समेत उनले सुनाए । विदेशमा मजदुरी गर्नुभन्दा यसैमा खुसी मिलेको उनले बताए । जुत्ता, चप्पलको उद्योग चलाउन स्थानीय सरकारको ढोका पटकपटक ढकढकाउँदा समेत केही सयोग लिन नसकेको उनको गुनासो छ । मेसिनलगायतका आवश्यक सामान किन्न तीन लाख रुपैयाँ मात्र ऋण पाएको भए यसैबाट कमाइ हुन्थ्यो र तिर्र्थे भन्ने उनलाई लागेको छ ।

नथुनी र राजकुमारको जस्तै महोत्तरीको औरही नगरपालिका–६ बैरियाका विन्देश्वर राम ४२ वर्ष को तीन पुस्ताको जिउने आधार यही पेसा भएको छ । वैदेशिक रोजगारीका क्रममा कतार र मलेसिया पाँच वर्ष विताएर आफ्नो देश फर्किनु भएको उनले बुवाले गर्दै आएका पेसालाई निरन्तरता दिएका हुन्।

छोरा सञ्जय राम १७ वर्ष र भतिजा विजय राम २८ वर्ष पनि यतै जुत्ता सिलाउने काम गर्दछन् । बुवा दुखा राम ७० वर्ष अझैसम्म यही काम गरिरहेको उनले बताए । “आफू त नपढेर दुख पाए, छोराले पढेर जागिर गरोस् भनेर पढाउने धेरै कोशिस गरें, पढेन । यो पेसामा पहिलोको जसरी कमाइ हुन छोड्यो, अब नागरिकता बनाएर विदेश पठाईदिन्छु,” उनले भने ।

चार छोरी र दुई छोराका बाबु बताउने विन्देश्वर दुई छोरीको विहे गरिदिएको र बाँकी रहेका छोराछोरी, घर परिवारको खर्च बाबुछोराको कमाइले धानेको बताउछन् । सम्पत्तिको नाममा बुवाको नाममा दुई कठ्ठा जमिन छ । उनको दुई दाजुभाइले बुवाको त्यही जमिनमा छुट्टाछुट्टै घर बनाएर यही पेसा गरेर परिवार पालेका छन् ।

सिन्धुलीमाढीमा महोत्तरीका मात्रै १५ जनाभन्दा बढी छन् । उनिहरु सबैको आर्थिक अवस्था नाजुक छ । जुत्ता, चप्पल सिलाउनका लागि चाहिने सामान्य सामान पनि सिन्धुलीमा पाइँदैन । जनकपुर, काठमाडौँ या त भारतका बजारमा लिन जानु पर्छ । स्थानीय सरकारर्ले बस्ने ठाउँको उचित व्यवस्थापन गर्नेतर्फ चासो राखेको छैन । कर भने हरेक हस्ताको शनिबार ५० रुपैंयाका दरले लिने गरेको महोत्तरीको औरही नगरपालिका–६ बैरियाका नागेन्द्र रामले ३७ वर्ष बताए ।

यसैगरी, सार्वजनिक शौचालय प्रयोग गरेवापत प्रत्येक दिन प्रतिव्यक्ति बीस रुपैयाँ तिर्नु पर्ने उनले जानकारी दिए । सरकारले जीविका धान्नको लागि सडकमा बसेर जुत्ता, चप्पल सिलाउने व्यवसायीहरुको सीपलाई सम्मान नगरेको उनको भनाइ छ । यो र यस्तै सीपलाई व्यवस्थापन, संरक्षण, प्रवद्र्धन गर्न सके स्थानीय स्तरका धेरै युवाहरुले रोजगारी पाउने उनको धारणा छ । यसतर्फ कसैको ध्यान जान नसकेको उनि बताउछन् ।

नागेन्द्रले सिन्धुलीमा यसरी जुत्ता सिलाउँदै आएको २६ वर्ष वित्यो । परिवारको दैनिक खर्च टार्नका लागि जुत्ता, चप्पल मर्मत गर्न थालेको बताउँदै उनले भने, “खेतवारी छैन, पेट पाल्नका लागि जसरी भएपनि कमाउनै प¥र्यो ।”

उनी जुत्ता मर्मत गरेर दैनिक चार सयदेखि एक हजार रुपैंयासम्म कमाउछन् । त्यही कमाइले कोठाभाडा तिर्न, खानेकुरा जुटान, लुगा लगाउन, छोराछोरी पढाउन, बिरामी हुँदा औषधि, उपचार गर्नलगायतको लागि खर्च पु¥याउनु पर्ने उनी बताउछन् । जुत्ता, चप्पल सिलाउने सियोदेखि आवश्यक कच्चा पदार्थसम्म बाहिरबाट महँगो मूल्य तिरेर ल्याउनुपर्ने र सेवाग्राहीले यसको मर्म नबुझिदिने उनको गुनासो छ ।

यो रामहरुको पुख्र्यौली पेसा नै हो । आर्थिक र व्यावसायिक तालिमको अभावमा उनीहरुको पेसाले सम्मान पाउन सकेको छैन । उनीहरुको सीपलाई संरक्षण तथा प्रद्र्र्धन गरी व्यावसायिक रुपमा अगाडि बढाउन सके थप रोजगारीको सिर्जना हुने थियो । साथै, आम्दानी बढ्ने हुँदा उनीहरुको दैनिक जीविकामा सहयोग पुग्ने व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group