कञ्चनपुर, १२ माघ । सुदूरपश्चिम प्रदेशमा फूटकररुपमा पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने छ ।
प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल आयल निगमको आधिकारिक बिक्रेताबाहेक अरुले पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाइएको हो । जसअनुसार गैरकानूनी तरिकाले पेट्रोलियम पदार्थ बोतल तथा जर्किनलगायतका भाँडामा राखी बिक्री गर्न नपाइने भएको हो ।
“कार्यालयबाट भएको अनुगमनमा अवैधरुपले पेट्रोलियम पदार्थ बिक्रीवितरण भएको पाइएको छ”, विज्ञप्तिमा भनिएको छ, “यसबारे गम्भीर ध्यानाकर्षण भएको छ ।” विज्ञप्तिमा अति प्रज्वलनशील पदार्थ खुलारुपले बिक्रीवितरण तथा भण्डारण गर्दा आगलागीका घटना निम्तिनेसँगै मानवीय र भौतिक क्षति हुने भएकाले रोक लगाइएको उल्लेख छ ।”
गैरकानुनीरुपमा पेट्रोलियम पदार्थ बिक्रीवितरण गरिएको पाइए कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्