काठमाडौं, १४ माघ । गुल्मीका स्थानिय तहमा कर्मचारी नहुँदा काम गर्न समस्या परेको छ । स्थानिय तहमा प्रमुख प्रशासकिय अधिकृत देखि लिएर वडा सचिवसम्मका पद रिक्त हुँदा गाउँपालिकाका योजना सम्झौता, विकास निर्माणका काम, सिफारिस लगायतका काम अलपत्र भएका छन् ।
गुल्मीको धुर्कोट गाउँपालिकामा १ सातादेखि प्रमुख प्रशासकिय अधिकृत छैनन् । गाउँपालिकामा अधिकृत स्तरको ब्यक्ति अथवा नायब सुब्बा सम्मको ब्यक्तिले मात्र प्रमुख प्रशासकको जिम्मेवारी लिने ब्यवस्था छ ।
तर गाउँपालिकामा भएका कुनै पनि वडा सचिवहरु नासु सरहका नभएकाले खरिदारको भरमा गाउँपालिका चल्नुपरेको छ । जसले गर्दा विकास निर्माणका काम अलपत्र पर्नुका साथै योजनाहरु पनि सम्झौता हुन सकेका छैनन् ।
गुल्मीको सत्यवती गाउँपालिकामा पनि प्राविधिक देखि वडा सचिवहरु सम्मका पदहरु खाली छन् । ८ वडा रहेको सत्यवतीमा ५ जना मात्रै सचिव छन् । प्रत्येक नागरिकले स्थानिय तहबाट सुविधा लिन खोज्नु स्वभाविक भएपनि सुविधा दिन नसकेको गाउँप्रमुख पारिश्वर ढकालको भनाई छ ।
गाउँपालिकामा मात्र होइन, जिल्लाकै सदरमुकाम र पुरानो नगरपालिकाको हालत पनि उस्तै छ । नगरपालिकामा वैकल्पिक कर्मचारी नभएको, भएकाहरुमध्ये पनि कति केन्द्र र प्रदेशमा जाने वा नगरपालिकामा नै बस्ने भन्ने अन्योल छ । त्यसैले आफूहरुले मिलिजुली नै नगरपालिकाको काम चलाएको नगरपालिकाका नायब सुब्बा गोपाल पन्थीले बताए ।
जिल्लामा कर्मचारीको पदपूर्ति गर्ने दायित्व जिल्ला प्रशासन कार्यलयको हो । जसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कर्मचारी पदपुर्ती समिति नै छ ।
तर सबै स्थानिय तहमा अवश्यक कर्मचारी नहुनुले पनि गुल्मीमा त्यो समिति निष्क्रिय जस्तै देखिएको छ । कर्मचारी पदपुर्तीको लागि मन्त्रालयमा पहल भइरहेको र केहि समयमै कर्मचारी पठाउने आश्वासन मन्त्रालयले दिएको प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल बताउछन् ।
जनप्रतिनिधि र कर्मचारीबिच समन्वय हुन नसक्नु, जनप्रतिनिले कर्मचारी र कर्मचारीले जनप्रतिनिलाई सम्मान गर्न नसक्नु, कर्मचारी पदपुर्ति गर्ने स्थानिय स्तर देखि केन्द्रसम्मको सरकारी निकायको कार्यसम्पादन फितलो हुनुजस्ता कारणले स्थानिय तहमा कर्मचारीको अभाव भएको हो । यसप्रति सम्बन्धित निकायले समयमै ध्यान पुर्याएको खण्डमा मात्र नागरिकले सिंहदरबारको अधिकार गाउँमै आएको कुरा महसुस गर्न सक्छन् ।
एबीसी रिर्पोटर हुमाकान्त पोखरेल
प्रतिक्रिया दिनुहोस्