काठमाडौँ, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘जान्नेलाई छान्ने’ नीतिअनुसार यसपटक तनहुँ १ मा उपनिर्वाचन लड्न डा.स्वर्णिम वाग्लेलाई अघि सारेको बताएका छन् ।
तनहुँमा सोमबार भएको कार्यक्रममा बोल्दै लामिछानेले डा.वाग्ले यही माटोमा हुर्किएकोसमेत बताए । स्वर्णिमलाई पाहुन भन्न नमिल्ने उनको भनाइ थियो ।
“संसारमा कयौँ देशको अर्थतन्त्र बिग्रँदा सल्लाह लिन बोलाउने स्वर्णिम वाग्ले त्यो देशका लागि पाहुन नहुने, सम्मानित मानिस हुने यही माटोमा सुगन्धबाट हुर्किएको स्वर्णिम पाहुना हुन्छ ? हुँदैन । कुनै हालतमा हुँदैन,” उनले भने ।
यसअघि तनहुँमै सोमबार बोलेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँका मतदाताले घुम्दै घुम्दै आउने टुरिष्ट उम्मेदवारलाई मत दिन्नौँ भन्नुपर्ने बताएका थिए । थापाले डा.वाग्लेलाई लक्षित गर्दै उक्त कुरा बताएपछि लामिछानेले जबाफ दिएका हुन् ।
लामिछानेले स्वर्णिमलाई कुनै एक जिल्लामा भन्दा पनि देशले नै छानेको सक्षम उम्मेदवार भनेका थिए । “उहाँ यो देशले छानेको उम्मेदवार हो । एक व्यक्ति सक्षम हुँदा देशले मुहार फेर्छ,” उनले भने । लामिछानेले नयाँ वर्षमा क्यालेन्डरमात्र नभइ भाग्यसमेत फेरिने दाबी गरेका थिए ।
उनले आफूहरूका सांसदले संसद्मा परिवर्तनको घन्टी बजाइसकेकोसमेत बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्