काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा प्रभावितको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले थप जनशक्तिसहित ४ हजार ८ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ ।
सशस्त्र प्रहरीले रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका विभिन्न प्रभावित क्षेत्रमा बेस क्याम्प स्थापना गरी खोजी तथा उद्धार अभियानलाई तीव्रता दिएको जनाएको छ ।
परिचालन गरिएका टोलीमा दक्ष खोज तथा उद्धारकर्मी, मास क्याजुअल्टी भेहिकल, शव व्यवस्थापन टोली, शिविर समन्वय तथा व्यवस्थापन टोली तथा चिकित्सकसहितको प्राथमिक उपचार टोली रहेका छन् । भत्किएका संरचनाभित्र फसेकाको खोज तथा उद्धारका लागि ४४ सदस्यीय विशेष टोली समेत परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
ड्रोनदेखि के–नाइनसम्म परिचालन
खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन पाँचवटा ड्रोनसहित विशेष ड्रोन स्क्वाड परिचालन गरिएको छ । सम्भावित जोखिम क्षेत्रमा खोजी गर्न सातवटा के–नाइन (प्रशिक्षित कुकुर) समेत परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै, बाढी तथा नदीमा फसेकाको उद्धारका लागि विभिन्न स्थानमा गोताखोर टोली खटाइएको छ भने थप जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ ।
सशस्त्र प्रहरीका अनुसार एकल प्रयासबाट ३२ जना तथा अन्य सुरक्षा निकाय र सम्बन्धित निकायसँगको संयुक्त प्रयासबाट १ हजार ४७३ जनाको सकुशल उद्धार गरिएको छ ।
४८ वडाबाट सूचनाको संकलन
भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा रहेका प्रभावित ४८ वडाबाट १ हजार २०० भन्दा बढी विपद् सूचकमार्फत सूचना संकलन गरी उद्धार कार्यलाई व्यवस्थित बनाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रभावित नागरिकका लागि विभिन्न स्थानमा होल्डिङ सेन्टर स्थापना गरिएको छ । साथै, प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने र ढुवानी व्यवस्थापनमा समेत सशस्त्र प्रहरी परिचालित रहेको जनाएको छ ।
स्वास्थ्य शिविरदेखि जेनेरेटरसम्म
बाढी आएको दिनदेखि नै नुवाकोटमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरबाट हालसम्म १४३ जनाको उपचार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रभावित क्षेत्रमा ऊर्जा आपूर्ति सहज बनाउन आठवटा जेनेरेटर, आवश्यक इन्धन, पाँचवटा सोलार प्यानल र १५ वटा ग्यास सिलिन्डर लगायतका अत्यावश्यक सामग्रीसमेत सुरक्षित रूपमा पुर्याइएको छ ।
यसैगरी, सशस्त्र प्रहरीको एकल प्रयासबाट बाढी प्रभावित क्षेत्रबाट ११० वटा शव फेला पारिएको जनाएको छ ।
नुवाकोटबाट ५९ जना काठमाडौं ल्याइए
भोटेकोशी बाढीका कारण नुवाकोटमा फसेका ५९ जनालाई सशस्त्र प्रहरीका सवारीसाधनमार्फत काठमाडौं ल्याइएको छ ।
सशस्त्र प्रहरीले उद्धार तथा सहायता आवश्यक परे निःशुल्क हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्