काठमाडौं, १६ माघ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी समिति बैठकले वर्तमान सरकारले गरेका पछिल्ला निर्णयको जिम्मेवारी आफ्नो नेतृत्वमा बन्ने नयाँ सरकारले नलिने निर्णय गरेको छ । पछिल्लो समयमा वर्तमान काम चलाउ सरकारले विभिन्न खाले निर्णय गरेको हुदा यस्ता निर्णयको जिम्मेवारी लिन नहुने बैठकले निकर्ष निकालेको छ ।
यस्तै बैठकले प्रदेशका मुख्यमन्त्री, मन्त्री र सभामुखको टुंगो राष्ट्रियसभाको चुनावपछि मात्र लगाउने भएको छ ।
एमालेले प्रदेश नम्बर १, ३, ४ र ५ मा मुख्यमन्त्री पाउने गरी माओवादीसँग सहमति गरेको छ । सकेसम्म सहमति गर्ने र सहमति हुन नसके मतदान गरेर भएपनि पार्टीभित्रबाट नाम टुंगो लगाउने सहमति बनेको नेताहरुले बताएका छन् । बैठकले माघ २४ गते हुने राष्ट्रियसभाको चुनावका लागि सातवटै प्रदेशमा मतदातालाई अभिमुखीकरण तालीम सञ्चालन गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य शंकर पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रियसभा सदस्य चुनावमा प्रदेश सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गर्नेछन् । प्रदेश नम्बर १ को मुख्य मन्त्रीमा भीम आचार्य र शेरधन राईको दावी छ । प्रदेश नम्बर ३ मा राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्य तथा प्रदेश नम्बर ४ मा पृथ्वीसुव्वा गुरुङ र किरण गुरुङ आकांक्षी देखिनु भएको छ ।
प्रदेश नम्बर ५ मा शंकर पोख्रेलको नाम सर्वसम्मत भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्