ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बगर खेतीबाट आत्मनिर्भर बन्दै किसान


एबीसी न्यूज
८ बैशाख २०८०, शुक्रबार   ३ : ४३   बजे

काठमाडौं, ८ बैशाख । कुनै बेला राप्ती नदी पसेर खेतीयोग्य जमिनलाई कटान गरी बगरमा परिणत गराएको ठाउँ अहिले हरियाली देखिन्छ । त्यहाँ लटरम्म खरबुजा तथा तरकारी फलेका छन् ।

त्यही खेतीबाट उनीहरु लखपति पनि बनिसकेका छन् । बगरे खेतीबाटै लखपति बनेका किसानहरूमा अहिले ठूलो जोस र जाँगर पलाउनाका साथै आफूलाई आर्थिक रुपमा सफल र सबल पनि बनाएका छन् ।

लमही नगरपालिका–४, बलरामपुर भएर बग्ने राप्ती नदीको बगर हो यो । बलरामपुरको दक्षिणतर्फ भएर बगेको राप्तीको उत्तरतिरको बालुवाले भरिएको जमिन अहिले हरियाली भएको छ । हेर्दा बालुवामाथि फलेको देखिने खरबुजाले त्यहाँका ग्राहक मात्र होइन त्यो बाटो भएर हिँड्ने सबैलाई लोभ्याउने गरेको छ ।

यतिखेर टिप्न ठिक्क भएका केही बोट खरबुजा छन् भने केहीमा भर्खरै बतिला लाग्दैछ । बोटमै गएर किन्ने ग्राहकले यसबाट आनन्द महशुस गरेका छन् । उनीहरु आफूहरुले नै टिपेर किन्नका लागि त्यहाँसम्म पुगेको बताउँछन् ।

बलरामपुर गाउँका अरू दुई सय किसान यतिखेर बालुवामा खरबुजा फलाउन व्यस्त छन् । राप्ती नदीले कटान गरेको केही ठाउँमा उनीहरुले बेमौसमी तरकारीको पनि खेती गरेका हुन् । उनीहरुमध्ये केहीले सामूहिक र केही व्यक्तिगत रुपमा खेती गरिरहेका छन् ।

पौरखी किसानमध्येकी लमही नगरपालिका–४ को सिम्रहवामा बस्दै आउनुभएकी ४९ वर्षीया सनकुमारी चौधरीले अहिले दुई बिघा जमिनमा खरबुजा रोप्नुभएको छ । उहाँ भन्नुहुन्छ, “पहिला नदीले हाम्रो सबै जमिन कटान गरेर हामीलाई बिचल्ली नै पार्‍यो । अहिले हामीले त्यही जग्गामा तरकारी र खरबुजा खेती गरेर परिवार पाल्न र घरखर्च चलाएका मात्र होइन छोराछोरी पढाउन र केही मात्रामा बचत गर्न पनि सफल भएका छौँ ।”

“बीस वर्षपहिले राप्ती नदीमा ठूलो बाढी आयो, घर बगायो, अन्नपात, गाई, भेडा सबै बगायो । हामी घर छोडेर सिम्रहवामा गयौँ । पछि राप्ती नदीले आफ्नो धार परिर्वतन गर्‍यो । त्यही बाढीले लगेको जमिन करिब दश वर्षसम्म त बगर नै थियो । पछि सबै गाउँलेहरुले सल्लाह गर्‍यौँ र यो खेती गर्ने कार्यक्रम बनायौँ”, कृषक चौधरी भन्नुहुन्छ ।

ती किसानलाई एउटा संस्थाले बीउ मल सहयोग पनि गरेको छ । सुरुको सो सहयोगले बगरमै खेती सुरु गरेका किसान अहिले भने आफैँ लखपति भएका छन् । उनीहरु आफँैले मनग्ये आम्दानी गरेपछि अहिले सहयोगको त्यति अपेक्षा पनि गरेका छैनन् । तीन वर्षसम्म खासै आम्दानी नभएको र अहिले पाँचौँ वर्षमा आफूहरुले मनग्ये आम्दानी लिन सफल भएको उनीहरूको भनाइ छ ।

“कृषक चौधरीको दुई बिघामा खरबुजा खेती छ भने केही जमिनमा भन्टा, लौका, करेला, बोडी आदि बेमौसमी तरकारीको खेती छ ।

बगर सुनसान ठाउँमा छ । बस्ती नभएको यस ठाउँमा गरिएको खेती चोरी हुने डरले प्रत्येक किसानले त्यहाँ फुसको छानो भएका घर निर्माण गरेका छन् । प्रचण्ड गर्मीको ठाउँमा तल बालुवा भएकाले त्यहाँ निकै तातो भए पनि फुसको घरमा रातको समयमा सुत्ने गरेका छन् ।
हाम्रो आम्दानीको स्रोत नै यही भएकाले चोरी हुने डरले श्रीमान् रातको समयमा यहीँ सुत्ने सनकुमारी बताउनुहुन्छ । “बेमौसमा पानीको समस्या हुने भएकाले राप्ती नदीबाट पानी बोकेर सिँचाइ गर्नुपर्ने बाध्यता छ भने
नजिकमा बजार नपाउँदा उत्पादित बस्तु विक्रीका लागि उत्तिकै समस्या हुँदै आएको छ । किसानहरु भन्छन्, “खरबुजा खेतीका लागि यो जमिन राम्रो छ । स्वास्थ्यका लागि फाइदासमेत हुने यस फलको उत्पादन र बजारका लागि सरकारले पनि केही गरिदिए हुन्थ्यो । यस्तै मल र बीउकोपनि व्यवस्था गरिदिए राम्रो हुन्थ्यो ।”
अहिले यहाँका किसानले खरबुजा बारीबाट प्रतिकेजी रु ७०मा विक्री गर्छन् भने र बजारमा प्रतिकेजी रु ८० मा फुटकरमा बिक्री हुने गर्दछ ।

स्थानीय उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले बगर खेतीका लागि २५ प्रतिशत छुटमा बीउ दिने गरेको छ तर त्यो पर्याप्त नभएकाले मल तथा बीउ किनेर खेती गरिरहेको र दु:ख भएपनि बालुवामा सुन फलाउन सकेको महसुस गरेको ती किसानको भनाइ छ ।

सोही ठाउँकी ३५ वर्षीया रीता चौधरी पनि बगरमा गरिएको खरबुजा तथा तरकारी खेतीबाट आफूहरुले राम्रो आम्दानी लिन सकेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुरुआतमा त निराशा पनि आयो किनभने हामीले यो बालुवामा के फलाउन सकौँला जस्तो पनि लागेको थियो । राम्रो भएन अहिले आम्दानीबाट घरपरिवार पाल्न, पढाउन र आम्दानी बचत गर्न पाउँदा खुसी लागेको छ ।”

राप्ती नदीले जग्गा कटान गरेर लगेपछि गाउँमा मजदुरी, ज्यालादारी गरेर घर खर्च चलाएका उनीहरु अहिले भने आफँै उद्यमी बन्न सफल छन् । दु:ख त छ तर पनि खुसी छौँ, रीताको भनाइ छ । उहाँले पनि एक बिघा जमिनमा खरबुजा र केही जमिनमा बेमौसमी तरकारी खेती गर्नुभएको छ ।
तरकारी र खरबुजा तुलसीपुर, घोराही बजारमा बिक्रीका लागि श्रीमान्लाई पठाउने गरेको र सबै खर्च कटाएर एक मौसममा रु एक लाखदेखि डेढ लाखसम्म बचत गर्ने गरेको उहाँको भनाइ छ ।

लमही नगरपालिका–४ की ३७ वर्षीय माया चौधरी पनि बगर खेतीले नै आफ्नो घरपरिवार पाल्न सफल भएको बताउनुहुन्छ । राप्ती नदीले बितण्डा मच्चायो, आफूहरुको धान हुने खेत सबै बगाएर बगर बनायो । अहिले त्यही बगरलाई हामीले मिहेनत गरेर तरकारी बारी बनाएका छौँ । खरबुजा र तरकारीको उत्पादन राम्रै छ तर बजार पाउन सकेका छैनौँ, उहाँको गुनासो छ ।

देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा रहेका केही किसानले व्यक्तिगत रुपमा र दुई हजार १८ जना किसानहरुले एक सय दुईवटा समूह बनाएर सामूहिक रुपमा बगरमा तरकारी खेती गरिरहेको उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ । उक्त संस्थाले तालिम तथा प्रशिक्षणसमेत दिँदैछ ।

त्यस्तै सो संस्थाले किसानहरुलाई बिना धितो सामूहिक जमानामा ऋणसमेत दिँदै आएको छ । एक नगरपालिका र दुई गाउँपालिकाका दुई हजारभन्दा बढी किसानले बगर खेतीबाटै एकै याममा प्रतिकिसानले रु ८० हजारदेखिरु चार लाखसम्म आम्दानी गर्न सफल भएको उनीहरु बताउँछन् ।

राप्ती नदीले कटान गरेर एक सय हेक्टरभन्दा बढी जमिनलाई बगर बनाइदिएको थियो । त्यसैमा खरबुजा र तरकारी खेती गरेर त्यहाँका विपन्न समुदायका किसानहरुले यति बेला राम्रो कमाई गरिरहेको स्थानीयवासी शान्ता गुरुङ बताउनुहुन्छ । राप्ती नदीले पटक पटक कटान गरी बगर बनाएको जमिन किसानहरुकै पौरखले गर्दा अहिले हरियाली हुनाका साथै आम्दानीको मुख्य स्रोत बन्न सफल भएको समेत उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group