काठमाडौं, १७ माघ । अफगानिस्तानको करिब ७० प्रतिशत भू -भागमा तालिबानी सक्रिय रहेको बीबीसीबाट गरिएको एक अनुसन्धानले देखाएको छ । तालिवानहरु अफगानिस्तानको ७० प्रतिशत भूभागमा खुल्ला रूपमा सक्रिय रहेको बीबीसीको दावि छ।
महिनौँ लगाएर गरिएको अध्ययनले सन् २०१४ मा विदेशी फौजले अफगानिस्तान छाडेपछि तालिबान लडाकुको खतरा अथवा नियन्त्रणमा कसरी वृद्धि भएको छ भन्नेमा केन्द्रित छ।
अफगान सरकारले प्रतिवेदनको खण्डन गर्दै अधिकांश क्षेत्रमाथि आफ्नो नियन्त्रण रहेको जनाएको छ। तर तालिबान र इस्लामिक स्टेट समूहले जिम्मेवारी दावी गरेका काबुल र अन्यत्र गरिएका हालैका आक्रमणमा कैयौँ मानिसले ज्यान गुमाएका छन्।
अफगान अधिकारी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानसँग वार्ताको कुनै सम्भावना नरहेको प्रतिक्रिया जनाए।
गत वर्ष ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेना अनिश्चितकालका लागि रहने घोषणा गरेका थिए।
गत अगष्ट २३ देखि नोभेम्बर २१ को बीचमा अफगानिस्तानका सबै जिल्लामा गरेको अनुसन्धानले त्यहाँको सुरक्षा अवस्थाको दुर्लभ तस्वीर, साथै करिब डेढ करोड अफगान नागरिक तालिबान नियन्त्रित क्षेत्रमा या उनीहरूको खुल्ला उपस्थिति रहेको र नियमितजसो आक्रमण गर्ने क्षेत्रमा बस्ने गरेको अनुसन्धानले देखाएको छ।
परम्परागत रूपमा दक्षिणी क्षेत्रमा पकड रहेको तालिबानले देशका पूर्वी, पश्चिमी र उत्तरी क्षेत्रमा नियन्त्रण विस्तार गरेको प्रष्ट देखिन्छ।
बीबीसीबाट
प्रतिक्रिया दिनुहोस्