काठमाडौँ, १७ माघ । हतियार देखाएर लुटपाट गर्ने गिरोहका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रामेछापको दोरम्बा गाउँपालिका–४ घर भएका भोजबहादुर थापामगर, सिन्धुलीको मरिन गाउँपालिका–८ बस्ने मिलन भन्ने रत्नबहादुर तामाङ, धुलिखेल नगरपालिका–१ बस्ने विष्णु भन्ने अमृत तामाङ र सोही नगरपालिकाको वडा नं १० बस्ने सानुकान्छा ब्लोन रहेका छन् ।
भक्तपुर सूर्यविनायक नगरपालिका–८ गणेशचोक डेरा गरी बस्ने रामबहादुर तामाङको कोठामा यही माघ १० गते भएको लुटपाटको घटनाको छानविनको क्रममा प्रहरीले सो समूहलाई पक्राउ गरेको हो ।
उनीहरूले तामाङको परिवारलाई हातखुट्टा डोरीले बाँधी नियन्त्रणमा लिएर कोठामा भएको नगद तथा सुनका गरगहना, मोबाइल समेत गरी रु १६ लाख बराबरको धनमाल लुटेका थिए ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई धनमालसहित उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी बुधबार डाँका चोरी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी परिसर भक्तपुरमा पठाएको छ ।
घटनामा संलग्न रही फरार रहेका अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । प्रहरीले पक्राउ परेकाहरूको साथबाट पगालेको सुनको ढिक्का साढे ६ तोला र मोबाइल बरामद गरेको छ ।
पक्राउ परेका भोजबहादुर र रत्नबहादुर यसभन्दा अगाडि पनि विभिन्न डाँका तथा चोरी मुद्दामा संलग्न रहँदै आएको र उनीहरु २०७४ को गणतन्त्र दिवसको उपलक्ष्यमा सजाय मिनाहा भई जेलबाट छुटेका हुन् ।
प्रतिक्रिया दिनुहोस्