माघ १८, काठमाडौं । रुकुम पूर्व जिल्लाको सदरमुकाम सार्ने देउवा सरकारको निर्णयलाई सर्वोच्च अदालतले रोकेको छ ।
बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट उत्तरपुथामा सार्ने सरकारले निर्णय गरेपछि सो निर्णय विरुद्ध अधिवक्ता गणेश हमालसहित तीन जनाले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
विहीबार न्यायाधीश दीपक कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सदरमुकाम सार्ने निर्णय विरुद्ध परेको रिटमा कानूनविदहरु सूर्य ढुंगेल, उपेन्द्रकेशरी न्यौपाने, रमन श्रेष्ठ, टीकाराम भट्टराई लगायतले बहस गरेका थिए ।
सरकारले सदरमुकाम सार्ने निर्णय गरेको विरोधमा विगत ८ दिनदेखि रुकुममा आन्दोलन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्